इटहरी / प्रारम्भिक मनसुन शुरु भएसँगै रानी–विराटनगर–इटहरी–धरान ६ लेनको सडक बिस्तारमा समस्या देखिन थालेको सडक बिस्तार परियोजनाले जनाएको छ । गहिरो स्थानमा पानी जमेर तथा अग्लो स्थानमा पनि जमिनमुनिको पानीका कारण समस्या भएको रानी–विराटनगर– इटहरी– धरान ६ लेन सडक परियोजनाले जनाएको छ ।
वर्षाले गर्दा समस्या
काम सुचारु गर्न पछिल्लो समय मौसमले साथ नदिएको परियोजनाले जनाएको छ । ‘फाउन्डेसनको लागि खन्दा जमिनमुनिको पानी जमेर खाडल भरिन्छ’, परियोजनाका इन्जिनियर सुमोद पोखरेलले भने, ‘होचो ठाउँमा त सबैतिर मनसुन शुरु नहुँदै पानी जमेर समस्या भएको छ ।’ यस पटक बैशाखदेख नै पानी परेको र पछिल्लो समय दिनहुँ अथवा दिन बिराएर पानी परिरहेका कारण काममा अवरोध पुगेको उनले बताए ।
‘पहिले अर्थ मन्त्रालयले बजेट निकासा नगरेर काममा अवरोध भयो’, पोखरेलले भने, ‘अहिले अर्थले पैसा पठाए पनि वर्षाका कारणले गर्दा काममा ढिलाइ भएको छ । सिमेन्ट, बालुवाको काम गर्न र जमिनमुनिको काम गर्न समस्या भएको छ ।’ विराटनगर क्षेत्रका बाँकी काम धमाधम भइरहे पनि वर्षाका कारण अहिले सबैभन्दा समस्या विराटनगरमै रहेको उनले जानकारी दिए ।
दुहबीमा वर्षापछि काम हुने
६ लेनको सडक निर्माणको क्रममा सबैभन्दा बढी समस्या दुहबीमा देखिएको छ । दुहबीमा देखिएको समस्या समाधान गर्न तत्काल गाह्रो देखिएपछि दुहबी क्षेत्रको काम थाँती राखेर अन्य क्षेत्रको काम परियोजनाले अघि बढाइरहेको छ । तर अब दुहबीको काम पनि अघि बढ्ने पोखरेल बताउँछन् ।
‘दुहबी क्षेत्रमा कसरी काम गर्ने भनेर परियोजनाले सडक विभागमा फाइल पेश गरेको छ,’ फोन सम्पर्कमा पोखरेलले भने, ‘विभागबाट पत्र आएपछि दुहबी क्षेत्रको काम पनि अघि बढ्छ ।’
पुनः पत्राचार
डिभिजन सडक कार्यालयले दुहबी नगरपालिका लगायतलाई पुनः पत्राचार गरेको छ । यसअघि गत माघमा डिभिजनले स्थानीय तहलाई पत्राचार गर्दै परियोजनाको काममा सघाउन अनुरोध गरेको थियो । त्यसपछि बिहीबार पुनः पत्र पठाउँदै राजमार्गको हकमा बीच भागबाट ३१ मिटर र सहायक मार्गमा २१ मिटर दायाँबायाँ बनेका संरचना हटाउन सहयोग गर्न अनुरोध गरिएको छ । डिभिजनले जिल्ला प्रशासन, क्षेत्रीय ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयलाई सो पत्रको बोधार्थ पठाएको छ ।
के छ पत्रमा ?
डिभिजनले पठाएको पत्रमा सडक ऐन २०३१ को दफा ३ क (१) ले सडक क्षेत्रमा घरटहरालगायतका संरचना बनाउन निषेध गरेको जनाउँदै त्यस्ता संरचना बनाएको भए हटाउन अनुरोध गरेको छ । निषेधित क्षेत्रभित्र स्थायी संरचना बन्ने गरी घरनक्सा पास नगरिदिन पनि डिभिजनले स्थानीय तहसँग अनुरोध गरेको छ ।
डिभिजनले पत्र पठाए पनि संरचना हटाउनुपर्ने समयसीमा भने तोकेको छैन । वर्षाको समय आउन लागेको र कतिपयको घर नै भत्काउनुपर्ने अवस्था पनि आउने हुनाले वर्षाअघि संरचना हटाउने काम नहुने सम्भावना बढी रहेको परियोजनाले जनाएको छ ।