सङ्खुवासभाः नेपालको संविधानको भाग ३ धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ ।
त्यस्तै, उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनी उल्लेख गरिएको छ । तर जिल्ला अस्पताल खाँदबारीमा भने संविधानको कुरा संविधानको किताबमा मात्रै सीमित भएको नागरिकले गुनासो गरेका छन् ।
सोमबार मकालु गाउँपालिका–३ हेदाङ्नाबाट प्रसूति गराउन भन्दै सुधा राई जिल्ला अस्पताल खाँदबारी आइन् । उनलाई अस्पतालका कर्मचारीले डाक्टर नभएको भन्दै सामान्य चेकअप पनि नगरी फर्काइदिए । उनले सोचेकी थिइन् जिल्ला अस्पतालमा २४ घण्टा नै प्रसूति सेवा पाइन्छ, तर उनले सोचेजस्तो भएन ।
राईले भनिन्, ‘जिल्ला अस्पतालमा २४ घण्टे प्रसूति सेवा पाइन्छ भनेर आएँ तर चिकित्सक नभएकाले अब कता जाने भन्ने समस्या भएको छ ।’ सुधाका श्रीमान् अशोकले पैसा हुनेले सुविधा सम्पन्न शहर काठमाडौं विराटनगर, धरानमा लाने गरे पनि आफूहरू जस्ता विपन्न वर्गका मान्छेलाई दुई छाक खान नै मुस्किल भएकाले उपचार गराउन त धेरै टाढाको कुरा भएको बताए । उनले थपे, ‘संविधानमा नै आकस्मिक सेवाबाट कसैलाई वञ्चित गरिने छैन भनेर लेखिएको छ तर हाम्रा लागि सो कुरा आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको छ ।’
सोमबार नै चैनपुर–११ लुहाकोटबाट प्रसूति सेवा लिन आएकी सीता त्रितालले पनि प्रसूति सेवा दिने चिकित्सक नभएकाले समस्या भएको बताइन् । उनले हवाई सेवाबाट जान भनेको बेला टिकट पाउन पहुँचभन्दा टाढाको विषय भएको र गाडीमा जान कच्ची सडकमा एम्बुलेन्ससमेत जान नमान्ने गुनासो गरिन् ।
त्यस्तै, खाँदबारी–४ चिप्ले गाउँबाट प्रसूति सेवा गराउन श्रीमती लिएर अस्पताल आइपुगेका आएका भुवन राईलाई समेत जिल्ला अस्पताल खाँदबारीले चिकित्सक नभएकाले प्रसूति सेवा दिन नसक्ने बताएपछि अलमलमा परेको बताए । राईले चिकित्सक नभएकाले सुविधा सम्पन्न शहरमा लैजान भने पनि उपचार गर्ने रकम नभएकाले लान नसकेको दुखेसो गरे । उनी मात्र होइन, प्रसूति गराउन आउने जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला भोजपुरको उत्तर पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्कने गरेको पाइएको छ ।
निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व गराउन जिल्ला अस्पताल खाँदबारीमा राखेका २ जनामध्ये १ जना चिकित्सकको समय अवधि सकिएको र एक जना बिदामा बसेपछि प्रसूति सेवा ठप्प भएको छ । डा. युवराज बस्नेतले दशैँअघि नै समय अवधि सकिएको भन्दै खाँदबारी अस्पताल छाडिसकेका छन् ।
प्रसूति सेवा गराउने चिकित्सक व्यवस्थापन नगर्दा जिल्ला अस्पताल खाँदबारीमा पटकपटक प्रसूति सेवा अवरुद्ध हुने गरेको छ । जिल्ला अस्पतालमा चिकित्सक नभएपछि १ साता अघिदेखि सेवा ठप्प भएको हो । संस्थाले राखेका अर्का डाक्टर शैलिका श्रेष्ठसमेत घर बिदामा बसेकी छिन् । चिकित्सक नभएपछि प्रसूति सेवा गराउन आउने सेवाग्राही मारमा परेका छन् ।
चिकित्सक व्यवस्थापनमा बेवास्ता
जिल्ला अस्पतालका प्रमुख लक्ष्मण खड्काका अनुसार डा. शैलिकाको बिदा स्वीकृत गरिएको छैन । शैलिकाले घरायसी समस्याको कारण जनाउँदै बिदा लिए पनि खड्काले स्वीकृत गरेका छैनन् । तर साताअघिदेखि सेवा प्रभावित भएकामा अस्पतालले चिकित्सक व्यवस्थापनका लागि चासो देखाएको छैन । खड्काले उनीहरूको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक व्यवस्थापनका लागि अनुरोध गरिएको तर हालसम्म समस्या समाधान नभएको बताए ।
यता, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवा गराउने चिकित्सक चाँडै व्यवस्थापन गर्ने बताए । जिल्ला अस्पतालमा १२ जना बढी चिकित्सकको दरबन्दी भए पनि केन्द्रबाट चिकित्सक नआएकाले समस्या हुने गरेको शाक्यले स्वीकार गरे । प्रसूति सेवाको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा समितिको बैठक राखेर चाँडै समस्या हल गर्ने अध्यक्ष शाक्यले बताए । तर जिल्ला अस्पतालमा यी र यस्ता समस्या पटकपटक देखा पर्ने गरेको छ ।
३ महिनादेखि अस्पतालमा नाभी मह्लम सकिए पनि अस्पताल प्रमुख खड्कालाई जानकारी नभएको केही साता पहिले बताएका थिए । सुत्केरी भत्ता, कर्मचारी व्यवस्थापन, कर्मचारीबीच विवादलगायतका कारण जिल्ला अस्पतालमाथि प्रश्न उठ्दै आएको छ । अस्पताल विकास समिति र अस्पताल प्रशासनले यस्ता समस्या चाँडै समाधान हुने भन्दै आलटाल गर्ने गरेका छन् ।