इटहरीः मोरङको सुन्दरहरैँचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने कार्यमा संलग्न भई पक्राउ परेका ६ जनामध्ये तीन जना इटहरी निवासी रहेको खुल्न आएको छ ।

स्वचालित हतियारसहित पक्राउ पर्नेहरुमा संखुवासभाको सभापोखरी गाउँपालिका ४ घर भई हाल इटहरी उपमहानगरपालिका २० तरहरामा डेरा गरी बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, भोजपुरको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ घर भई हाल इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा डेरा गरी बस्ने वर्ष ३० को नगेन्द्र राई, संखुवासभाको बाह्रबिसे गाउँपालिका ६ घर भई हाल इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा डेरा गरी बस्ने वर्ष ३० को चिरञ्जिवी राई, मोरङको सुन्दरहरँैचा नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २२ को मिशन राई, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ०१ बस्ने ४५ वर्षीय डाईमण्ड भन्ने प्रमोद चौधरी, र मोरङ सुन्दरहरँैचा नपा ७ बस्ने ३१ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूलाई मोरङकै केराबारी क्षेत्रबाट मङ्गलवार राति पक्राउ गरिएको हो । यो समूहबाट सुन पसल लुटपाट गर्न प्रयोग गरिएको स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल तथा सञ्चार सेट एक थानसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

loot

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउन्ड गोली पनि बरामद भएको छ । त्यसैगरी सुन पसल लुट्ने प्रयासमा प्रयोग गरीएका ९१० को २ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५ मोटरसाइकल, को २० प १८६ मोटरसाइकलको ८ प ६५८३ मोटरसाइकल, को २१ प ६७०३ मोटरसाइकल र विभिन्न ब्राण्डका मोवाइल ८ थान साथै नगद रू १६ हजार १ सय बरामद गरेको छ ।पक्राउ परेको समूह सोही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी अनुसन्धान भइरहेको छ । यो समूहको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, १ नं. प्रदेश प्रहरी कार्यालयको (रिट) समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोली परिचालित भएको थियो ।

घटना भएको १२ औँ दिनपछि यो समूहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेकाहरूको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । ‘ज्वेलर्स लुटपाट गर्न आउने समूहका केही सदस्यलाई राति १२ बजे केराबारी क्षेत्रबाट पक्राउ गरेका हौँ’ उनले भने ‘थप अनुसन्धान हुँदैछ ।’ पक्राउ परेकाहरूका साथमा रहेका अन्य सदस्य समेतको खोजी भइरहेको प्रहरी स्रोतले बताएको छ ।