विराटनगरः नगरवासीको सुख र समृद्धिका लागि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दण्डवत प्रणाम यात्रा गरेका छन् । विगत १५ वर्षदेखि छठको व्रत बसी दण्डवत प्रणाम यात्रा गर्दै आएका प्रमुख पराजुलीले यस वर्षको यात्रा महानगर र महानगरवासीको सुख र समृद्धिका लागि गरिएको बताए ।
दण्डवत प्रणाम यात्राका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले आफू र आफ्नो परिवारका लागि दण्डवत प्रणाम गर्दै आए पनि महानगरको प्रमुख भएपछि महानगरवासीको सुख र समृद्धिका लागि दण्डवत यात्रा गरिरहेको जानकारी दिए ।
उनले आफ्नो चाहना समृद्धि र शान्ति भएकाले नगर र नगरवासीको समृद्धिका लागि इमान्दारपूर्वक सधैँ लागि पर्ने स्पष्ट पारे । छठीमाताको व्रत बसेर गरेको भाकल पूरा हुने जनविश्वास रहेको छ । छठी माताको व्रत बसी गरिएको भाकल पूरा हुनेमा आफू पनि विश्वस्त रहेको पराजुलीले बताए ।
विराटनगर–४ स्थित शिवपञ्चायन मन्दिरबाट उनले दण्डवत प्रणाम यात्रा शु? गरेका हुन् । मन्दिरदेखि करिब ३ किलोमिटर टाढा सिंगिया खोलास्थित परोपकार घाटसम्मको यात्रामा उनी मध्याह्न्न १२ बजे निस्किएका हुन् । यात्रा पूरा गर्न करिब ३ घण्टा समय लागेको थियो ।