इटहरीः इलाममा रहेको सामलिङ्ख पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दालाई यहि साउनको २२ गतेबाट साधारण शेयर बिक्री गर्ने भएको छ ।
९ दशमलव ५१ मेगावाटको माइवेनी हाइड्रोपावरको प्रोजेक्ट सञ्चालन गरिरहेको सामलिङ्ख पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । सन् २०१८ बाट चालु भएको सामलिङ्खले इलाम जिल्लाभरिका बासिन्दाको लागि ३ लाख कित्ता र बाँकी २ लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलाम नगरपालिका ८ र १० नम्बर वडा साथै माइजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का बासिन्दाको लागि बिक्री गर्नेछ ।
कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैँकलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ भने इलामेलीले नेपाल एसबीआई बैँक, एनएमबी बैँक, सिद्धार्थ बैँक, सिभिल बैँक र लक्ष्मी बैँकका इलाम शाखा कार्यालयबाट आईपीओमा आवदेन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सामलिङ्खको यो निष्कासनलाई इक्रा नेपालले डबल बी माइनस प्रदान गरेको छ । जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत दिन्छ ।

















