इटहरीः ‘गाईजात्रा’ हास्य र व्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै विभिन्न हास्य व्यङ्ग्य सामग्री बजारमा भित्रिने गर्दैछन् ।

आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले यो वर्षको लागि आफ्नो गाइजात्रे कमेडी कोसेली ‘बकम्फुसाय नमः’ ल्याएका छन् । देशको समसामयिक राजनीति, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दै उनले ‘बकम्फुसाय नमः’ ल्याएका हुन् । रिजालको यो पटकको गाईजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत र प्रहसनसमेत समेटिएको छ । प्रहसनको केन्द्र भने तीन वर्षभन्दा बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् । प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ । जुन ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् बुधबार साँझ सार्वजनिक गरिएको छ । दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो । गत वर्ष उनले ‘लकडाउन’ नामक गाइजात्रे कोसेली ल्याएका थिए ।

5

हास्य कलाकारका लागि गाईजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो पर्र्वमा गाईजात्रे कोसेली ल्याउने गरेको रिजालले बताए । ‘गत वर्ष मेरो ‘लकडाउन’ नामक गाईजात्रे कोसेली आएको थियो । यो धेरैले हेरे, टिकटकलगायत सामाजिक सञ्जालमा समेत भाइरल भयो’ रिजालले भने ‘मैले हरेक वर्ष आफ्नो पर्सनल गाईजात्रे कोसेली ल्याउने गरेको छु ।’ अन्य कलाकारसँग मिलेर आउने गाईजात्रे कोसेली पनि आउने गरेको र यो वर्ष पनि आउने रिजालले सुनाए । रिजालले ‘हुकुम बक्सियोस्’ गीतलाई यसमा प्यारोडीमार्फत् नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन् । गाईजात्रे प्रस्तुतिको भिडियोमा रिजालका अलावा दमन रुपाखेति, शशीविक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, वेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धीरेन्द्र सिंह लगायतको अभिनय रहेको छ ।

b

गायिका राधिका हमाल भिडियोमा राष्ट्रपतिको भुमिकामा देखिएकी छन् । वि.सं. २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्दछन् । अहिले आएको आफ्नो गाईजात्रे कोसेली समसामाहिक विषय र राजनीतिक विकृति प्रतिको खरो झटारो भएको रिजालको भनाई रहेको छ । प्यारोडी गीतमा रिजाल तथा शंकर कार्कीको शब्द रहेको छ भने स्वर शशीविक्रम थापा तथा राधिका हमालले दिएका छन् । रिजाल कलाकारिताको हरेक विधामा फिट देखिँदै आएका कलाकार हुन् । बितेका वर्षझैँ यो वर्षको आफ्नो गाईजात्रे कोसेली दर्शक तथा श्रोताले रुचाउने उनको विश्वास रहेको छ ।