इटहरीः मोरङको बेलबारी नगरपालिका–९ तीनकुटियामा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकलका चालक बेलबारी–९ का २८ वर्षीय उमेश चौधरी रहेको १ नम्बर प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किएपछि चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारका क्रममा राति ११ः०० बजे ज्यान गएको हो ।
सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार ३० वर्षीय श्रवणकुुमार विश्वाससमेत घाइते भएकोमा उनको सोही अस्पतालमा उपचार जारी रहेको छ । सवारी चालक अनुमतिपत्र प्राप्त गनरेका चालकले मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

















