विभिन्न स्टेटहरुमा संक्रमण दर बढ्दै जान थालेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै स्टेटहरुलाई खोप लगाउँदा १०० डलर प्रोत्साहन रकम प्रदान गर्न भनेका छन् ।

खोप अभियान सुस्ताएपछि उनले गति बढाउनका लागि भनेर यो उपाय सुझाएका हुन् । त्यस्तै, उनले संघीय सरकारका झन्डै २० लाख कर्मचारीहरुलाई पनि अनिवार्य खोप लगाउनैपर्ने नयाँ कडा नियम लागु गराइने बताएका छन् । यसमा सबै कर्मचारीले खोप लगाएको प्रमाण देखाउनुपर्ने हुन्छ, नत्र उनीहरुलाई अनिवार्य परीक्षण गराइनेछ र मास्क पनि अनिवार्य लगाउनुपर्ने हुन्छ । आधिकारिक डाटाका अनुसार हालसम्म अमेरिकाको आधा जनसंख्याले मात्र पूरा डोज खोप लगाएको छ । बिहीबार ह्वाइटहाउसबाट बोल्दै बाइडेनले अति संक्रमक डेल्टा भेरियन्टविरुद्ध लड्नका यी नयाँ उपायहरु अपनाउन लागिएको बताएका हुन् । खोप नलगाउनुले डेल्टा भेरियन्ट तीव्र गतिमा फैलँदा महामारीले फेरि खराब परिस्थिति सिर्जना गर्न लागेको उनले बताए ।

उनले भनेका छन्, “अहिले पनि मानिसहरुको मृत्यु भइरहेको छ र आगामी दिनमा अझ धेरैको मृत्यु हुनसक्छ । जबकि, उनीहरुले त्यसरी ज्यान गुमाउनै पर्दैन । सबैलाई यसबाट बचाउन सकिन्छ ।” बाइडेनले खोप लगाउनेहरुलाई अहिले आएर प्रोत्साहन रकम प्रदान गर्नुले पहिले नै खोप लगाइसकेकालाई अन्याय महसुस हुन सक्ने भए पनि धेरैभन्दा धेरै मानिसलाई सुई लगाउनुले सम्पूर्ण अमेरिकीहरुलाई नै फाइदा पुग्ने बताएका बताए । स्टेटहरुले सो रकम अमेरिकन उद्धार योजनाअन्तर्गतको १.९ ट्रिलियन डलरबाट खर्च गर्ने बताइएको छ ।

त्यस्तै, आफ्ना कामदारहरुलाई खोप लगाउनकै लागि एक दिनको तलबयुक्त बिदा दिने ठूला तथा साना व्यवसायहरुलाई पनि सरकारले पूर्ण क्षतिपूर्ति दिने बाइडेनले बताएका छन् । हाल विशेषगरी कन्जरभेटिभ पार्टीका समर्थक र सदस्यहरुबीच खोप असुरक्षित हुन्छ भन्नेजस्ता अफवाह फैलिरहेको विषयमा पनि बाइडेनले चर्चा गरेका थिए । खोप लगाउने विषय राजनीतिसँग कतै नजोडिएको कुरामा उनले जोड दिए । सबै खोप रिपब्लिकन प्रशासनकै नेतृत्वमा निर्माण भएको र उनको पालामा केवल वितरणको प्रक्रिया अघि बढाइएको बाइडेनले बताएका हुन् । गएको महिनाको एक सर्वेक्षणमा कोभिडका कारण अमेरिकामा मृत्यु भएका ९९ प्रतिशतले खोप नलगाएको पत्ता लागेको थियो ।

अमेरिकाभर ७० प्रतिशत वयस्कहरुले कम्तीमा एउटा डोज खोप लगाइसकेको भए पनि स्टेटनुसार खोप लगाउनेको दरमा धेरै भिन्नता छ । हाल संक्रमण बढ्दै गएका दक्षिण र पश्चिमी क्षेत्रमा खोप लगाउनेको दर एकदमै कम रहेको पाइएको छ । पछिल्ला केही हप्ता अमेरिकामा संक्रमण दर तीन महिनापछिकै उच्च, प्रतिदिन ६० हजार पुगेको छ भने भाइरसका कारण हरेक हप्ता दुई हजारको मृत्यु हुन थालेको छ । सोही कारण अघिल्लो हप्ता सीडीसीले पूरा डोज खोप लगाएका नागरिकहरुका लागिसमेत मास्क म्बन्धी नीति परिवर्तन गराएको छ । उच्च संक्रमण दर भएका क्षेत्रमा भित्रै बस्दा पनि मास्क लगाउनुपर्ने भनिएको छ । न्युयोर्क, क्यालिफोर्निया, एट्लान्टा, वासिङटनलगायत विभिन्न स्टेटमा नियम यो लागु गर्न लागिएको छ । -बीबीसीबाट