इटहरीः होटल व्यवसायी संघ इटहरीले आफूसँग आबद्ध होटल व्यवसायी तथा कामदारका लागि कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

पर्यटन व्यवसायी संघ सुनसरीको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा यही आउने आइतबार र सोमबार खोप वितरण गर्न लागिएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । उनका अनुसार कोरोना महामारीबाट ठप्प बन्न पुगेको पर्यटन व्यवसायलाई पुनर्जीवित बनाउनका लागि होटल व्यवसायी तथा कामदारलाई खोप दिने प्रबन्ध गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् सुनसरीभरका होटल व्यवसायी तथा कामदारहरुका लागि स्वास्थ्य कार्यालयले पहिलो चरणमा एक हजार डोज खोप उपलब्ध गराउन लागेको होटल व्यवसायी संघ इटहरीका महासचिव जयप्रसाद उपाध्याय पौडेलले बताए ।

उनका अनुसार दुई चरणमा सञ्चालन गरिने खोप अभियानमा चिनियाँ कम्पनीको भेरोसेल खोप प्रदान गरिनेछ । खोप वितरणलाई व्यवस्थित गर्नका लागि इटहरीका होटल व्यवसायीहरुको तथ्याङ्क संकलन जारी रहेको संघकी महिला उपाध्यक्ष पुनम थापामगरले बताइन् । उनका अनुसार संघले जारी गरेको परिचयपत्र र पहेँलो कार्डका आधारमा खोप वितरण गरिनेछ । खोप वितरण प्रकृयालाई प्रभावकारी बनाउन होटल व्यवसायीका लागि छुट्टै खोप केन्द्रको व्यवस्था गरी खोप वितरण गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिने संघका उपाध्यक्ष प्रकाश महतोले जानकारी दिए । होटल व्यवसायीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै प्रदेशमै पहिलो पटक सुनसरीमा कोरोना विरुद्धको खोपको व्यवस्था मिलाइएको उनको भनाइ छ । आफूहरुको आग्रहलाई स्वीकार गरी खोप उपलब्ध गराइदिने सम्बद्ध सबै पक्षलाई उनले धन्यवादसमेत दिएका छन् ।