अफगानिस्तानमा अमेरिकी सेनालाई सहयोग गर्ने अफगानी नागरिक सवार पहिलो विमान अमेरिका पुगेको छ ।

यसमा दुई सय अफगानी नागरिक सवार छन् । अफगानिस्तानबाट आएको विमान अमेरिकाको भर्जिनियाँ राज्यस्थित फोर्ट ली मा अवतरण गरेको अमेरिकी अधिकारीहररुले बताएका छन् । विमानमा सवार यात्रीहरुमा दोभासेका साथै अन्य सैनिक सहायक र उनीहरुका परिवारजन समावेस छन् । भर्जिनियाँमा उनीहरुको स्वास्थ्य जाँच तथा विशेष प्रवास भिसाको प्रकृया पूरा गरिँदैछ । अमेरिकी सेनाका सहयोगी अफगानी नागरिकको अमेरिका आगमनप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले खुसी व्यक्त गरेका छन् । उनले भने, ‘आजको दिन ऐतिहासिक छ । अफगानिस्तानमा पछिल्लो २० वर्षमा अमेरिकी सैनिक र राजनीतिकर्मीसँग हजारौँ अफगानी नागरिक काँधमा काँध मिलाएर हिँडे ।

उनीहरुले हामीलाई सेवा प्रदान गरे । हामी उनीहरुसँग गरिएका वाचा पूरा गरिरहेका छौँ । आगामी दिनमा पनि यो जारी रहनेछ । वरिष्ठ उपराष्ट्रिय सुरक्षा सल्लाहकार रस ट्रेवर्सले भने, ‘अफगानिस्तानमा करिब सात सय ५० स्थानीय नागरिकहरु अमेरिकी सेनाको सहायकका रुपमा कार्यरत थिए । तीमध्ये धेरै हाम्रा गुप्तचर निकायसँग सम्बद्ध थिए । उनीहरु र उनीहरुका परिवारजनसहित करिब दुई हजार पाँच सय अफगानी नागरिकका लागि अमेरिकी भिसा प्रकृया पूरा गरिँदैछ । हामी अफगानिस्तामा हाम्रो मिसनको समर्थन गर्ने बहादुर अफगानी नागरिकको सम्मान गर्छौँ ।

सैनिकद्वारा १३ तालिबानी मारिए, १६ घाइते
अफगानिस्तानको सुरक्षा बलले शुक्रबार घोरियन जिल्लामा तालिबानी अखडालाई निशाना बनाई हवाई हमला गर्यो । सो हमलामा परी १३ तालिबानी विद्रोहीको मृत्यु भएको छ भने थप १६ जना घाइते भएका छन् । तालिबानविरुद्ध देशभर सेनाले अपरेसन जारी राखेको अफगानी रक्षा मन्त्रालयले जनाएको छ । यसअन्तर्गत सेनाले पछिल्लो २४ घण्टामा एक सय तालिबानी विद्रोहीलाई मारेको छ भने ९० जना घाइते भएका छन् । यसैगरी, सेनाले तालिबानी विद्रोहीको कब्जाबाट धेरै गाउँहरुलाई मुक्त गराएको छ । सैन्य कारबाहीका क्रममा पाकिस्तानका एक सरकारी अधिकारीसमेत मारिएको अफगान रक्षा मन्त्रालयले जनाएको छ । -भास्कर डट कमबाट