चीनमा फेरि पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

चीनको नान्जिङ सहरमा सङ्क्रमण फेला परेपछि कोरोना भाइरस पुनः एकपटक प्रकोपका रूपमा अन्य पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको छ । २० जुलाईमा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् । सङ्क्रमितमध्ये सातजना गम्भीर अवस्थामा रहेको नान्जिङका स्थानीय अधिकारीले बताएका छन् । नान्जिङका एक स्वास्थ्य अधिकारीले सङ्क्रमितहरूको सम्बन्ध रुसबाट आएको एउटा विमान सफा गर्न गएका कर्मचारीसँग भएको बताएका छन् ।

१० जुलाईमा रुसबाट आएको विमानमा ती कर्मचारीले सरसफाइसम्बन्धी कडा नियम पालना नगरेको जनाइएको छ । अधिकारीहरूका अनुसार कोरोना भाइरसको सङ्क्रामक डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिएको हो । बिबिसीमा उल्लेख गरिएअनुसार परीक्षणबाट उक्त भाइरस चङ्दु र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ । अहिलेको अवस्थालाई वुहानपछिको सबैभन्दा व्यापक महामारीको संज्ञा दिइएको छ । तर उक्त प्रकोप अहिले पनि प्रारम्भिक चरणमा भएको हुँदा नियन्त्रण गर्न सकिने विज्ञहरूले बताएका छन् । -बीबीसीबाट