इटहरीः संगीत मन नपाराउने मानिस सायद यो संचारमा कमै होलान् । संगीतले जुनै पनि उमेर समूहका मानिसहरुलाई एकै स्थानमा बाध्न सक्छ । कतिपयले बाल्यकालबाटै संगीतमा अभीरुचि राख्ने गर्दछन् । सानै उमेरदेखि संगीतमा आफ्नो भबिस्य र सफल जीवन देख्नेहरुको भीड पनि निकै ठूलै छ । अझ नेपालको परिवेशमा भन्ने हो भने पछिल्लो समय युवा पुस्तामा संगीतप्रतिको लगाव ह्वात्तै बढेको पाइन्छ । संगीतबाटै धेरैले आफ्नो जीवनमा कायपलट नै गरेका उदाहारणहरु धेरै छन् । नेपाली सांगीतिक आकाशको भीडमा पृथक स्वर र शैली लिएर आएकी छन्, इटहरी निवासी गायिका रञ्जिता श्रेष्ठ ।

संगीतको पनि विविध विधामध्ये शास्त्रीय संगीतमा रुची राख्ने उनले हालसम्म त्यसै प्याटर्नका ३ वटा गीतमा आफ्नो सुमधुर आवज पस्किसकेकी छन् । उनको आवजलाई श्रोताहरुले मन पराउन थालिसकेका छन् । बाल्यकालदेखि नै संगीतमा रुचि राख्ने उनी पछिल्लो ३ वर्षयताबाट व्यावसायिक रुपमा गायन क्षेत्रमा स्थापित हुने सांगीतिक यात्रामा अगाडि बढिरहेकी छन् । शास्त्रीय संगीतको सेन्टिमेन्टल फ्लेवर मन पराउने रञ्जिता सोही प्रकृतिका गीतहरुमा आफ्नो सफल सांगीतिक यात्राको भविष्य खोजिरहेकी छन् । संगीतका गुरु संगीतकारद्धय गणेश रिजाल र स्व.राम धामीका सानिध्यमा रही शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण प्राप्त गरेकी रञ्जिताले गीतकार गणेश खड्काकै शब्द सिर्जना र संगीतकार गणेश रिजालको संगीतमा रहेको ‘मलाई बाँच्न सिकाउने’ बोलको गीत रेकर्ड गराई सांगीतिक बजारमा आफ्नो उपस्थिति देखाएकी हुन् । सो गीतपछि उनले गीतकार सिन्धु पौडेलको रचना र संगीतकार गणेश रिजालको संगीतमा सजिएको ‘देखेर पनि किन बोल्दैनौ भगवान’ बोलको गीत पनि गाइसकेकी छन् ।

ranjita3

 

उनको सांगीतिक सक्रियता यतिमा मात्र सीमित छैन । गीतकार गणेश खड्काकै शब्द सृजना र गणेश रिजालको संगीतमा ‘कहिल्यै तिम्रो नजरबाट गिर्न नपरोस्’ बोलको गीत पनि उनले आफ्ना स्रोतामाझ तेस्रो कोसेलीका रुपमा तीन दिनअघि मात्र यूट्युबमार्फत् पस्किसकेकी छन् । उनको सो गीत इटहरीबाटै सञ्चालित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोले सञ्चालन गरेको पूर्वाञ्चल म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । बाल्यावस्थादेखि नै साँस्कृतिक कार्यक्रमहरुमा भाग लिएर आफ्नो गायन कला प्रदर्शन गर्दै आएकी रञ्जिताले तीन वर्षयता भने गीत रेकर्ड गराई सार्वजनिक गर्न थालेकी हुन् । विवाह र व्यावहारिक जिम्मेवारीका कारण लामो समय संगीत क्षेत्रबाट टाढिएकी उनलाई संगीतप्रतिको मोहले फेरि एक पटक आकर्षित गरेको छ । आफ्नो स्वर सेन्टिमेन्टल गीतमा सुहाउँदो प्रकृतिको भएकाले सोही प्रकारका गीत गाउने गरेको भन्दै रञ्जिता अवसर मिलेमा अन्य विधाका गीतहरु पनि गाउन इच्छुक रहेको बताउँछिन् ।

अबको दुई महिनाभित्र फरक स्वादको गीतका साथ स्रोतामाझ आउन प्रयास गरिरहेको उनले बताइन् । हालसम्म एकल रुपमा गीतहरु गाइरहेकी रञ्जिता युगल गायनका लागि अवसरको प्रतिक्षामा छिन् । आफ्नो गायन कलालाई निखार्न र सिर्जनामार्फत् चीरस्मरणीय बन्ने रहर पूरा गर्न गायन क्षेत्रमा आएकी उनले गायनमा मात्र निर्भर रहेर बाँच्न नेपालमा सम्भव नरहेको उल्लेख गरिन् । गायन क्षेत्रमा लागेर पर्याप्त अर्थोपार्जन गर्न नसकिने बुझेकी उनले जीवन निर्वाहका लागि आफ्नो जागिरलाई पनि महत्वका साथ अगाडि बढाइरहेकी छन् ।