राजविराजः सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि प्रहरी परिचालन गरिएको छ ।

आइतबार साँझ करिब सवा ७ बजेतिर मुकुट चोरी भएको हो । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो । खोजी कार्यलाई तिव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका बन्द गरिएको छ । -रासस