इटहरीः आज प्रदेश १ सहित देशका विभिन्न भागको मौसममा सामान्य बदली रही हल्का वर्षा भइरहेको छ ।

प्रदेश १, बाग्मति, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । प्रदेश १, बाग्मति र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावनासमेत रहेको विभागको प्रक्षेपण छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मति, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले अपिल गरेको छ ।