इटहरी/ धरानले स्मार्ट बस पार्क र केवलकार परियोजना सञ्चालन गर्ने भएको छ । यसको लागी धरान उपमहानगरपालीकाले धरान–८ स्थित तीनकुने सुन्दर बस्ती क्षेत्रमा स्मार्ट बसपार्क बनाउने भएको छ । प्रदेश सरकार तथा नगर विकास कोषको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त क्षेत्रमा अत्याधुनिक बसपार्क बन्ने नीति धरानले आइतबार सार्वजनिक गरेको छ ।
यस्तै धरानले केवलकार परियोजना पनि सञ्चालनमा ल्याउने भएको छ । डेढ दशक अगाडि देखी चर्चामा आएर बन्न नसकेको केवलकार बनाउने कार्यक्रप पनि धरानले सार्वजनिक गरेको छ । प्रदेश र निजी क्षेत्रसँगको सहकार्यमा धरानले केवलकार परियोजना सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
धरानले धरान भरिका स्थानीयको सबै मुख्य सूचना सङ्कलन गर्नेगरि सिटी डिजिटल म्याप बनाउने भएको छ । नगरभित्रका नागरिकको आधारभूत विवरण, पेसा व्यवसाय, सामाजिक आर्थिक विकासको अवस्था, संस्थागत सूचना आदि झल्किने गरी बहुक्षेत्रीय तथ्याङ्क पद्धति सहितको डिजिटल नगर चित्र तयार गरेर वेबसाइटमा राखिने कार्यक्रम सार्वजनिक गरिएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रमहरू सार्वजनिक गर्दै आइतबार सार्वजनिक गरिएको १ अर्ब ८० करोडको बजेट वक्तव्यमा यस्तो बताइएको छ । धरान उपमेयर मन्जु भण्डारीले प्रस्तुत गरेको यो बजेटको आकार अघिल्लो आर्थिक बर्षको भन्दा २५ करोड बढि हो ।
१९० वटा विभिन्न बुँदामा विकास तथा नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको धरानले अन्य विभिन्न आकर्षक आयोजनाहरू समेत सार्वजनिक गरेको छ ।
पर्यटन क्षेत्रमा २ करोड ६२ लाख
प्रदेश १ को सबैभन्दा व्यस्त पर्यटकीय नगरी धरानले पर्यटनमा २ करोड ६२ लाख रकम छुट्याउदै पर्यटन पूर्वाधार र विकासका कार्यक्रमहरू ल्याएको छ । धरानको धार्मिक, साहसिक र सांस्कृतिक अनि होमस्टे पर्यटनमा धरानले कार्यक्रम ल्याएको छ ।
विउविजन खरिदमा ७५ प्रतिशत छुट
सहकारी क्षेत्रका प्रबर्द्धन गर्दै धरानले एक घर एक सहकारी सदस्यको अवधारणा ल्याएको छ । सहकारीकै माध्यमबाट धरानले कृषकलाई आकर्षक गर्न विभिन्न किसिमका विउविजनमा अधिकतम ७५ प्रतिशत छुट दिने भएको छ । यस्तै, निजी क्षेत्रसँगको साझेदारीमा पांगारिक मत तथा हड्डीको धुलोले बनेको बोन मल उत्पादन पनि धरानले उत्पादन गर्ने भएको छ । धरानले प्रांगारिक हाटबजारको छ्ुट्टै व्यवस्था गर्ने भएको छ ।
१० धुर माथिको घरमा अनिवार्य पार्किङ हुनुपर्ने
धरानले आवास क्षेत्रको व्यवस्थापनको लागी धरानका सुकुम्बासीको व्यवस्थापनको लागी ८० लाख छुट्याको छ । यो रकम असुरक्षित स्थानमा रहेका सुकुम्बासीहरुलाइ सुरक्षित स्थानमा सार्दै नमुना बस्ती विकास कार्यक्रममा खर्च हुने भएको छ ।
भवन नक्सापास प्रक्रियालाई सरल र चुस्त बनाउन विद्युतीय घर नक्सा प्रक्रिया (इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम) २०७५ श्रावण बाट लागु हुने भएको छ । यस्तै धरान उपमहानगरपालीका क्षेत्र भित्र अब बन्ने १० धुर माथिका घरजग्गामा अनिवार्य पार्किङ स्थल बनाउनुपर्ने भएको छ ।
अनिवार्य बिमा र ई– पुस्तकालय बन्ने
धरानले सामुदायिक पुस्तकालयहरूलाई क्रमशः ई–पुस्तकालयको रूपमा विकास गर्ने भएको छ । स्वास्थ्य क्षेत्रमा प्रत्येक धरानबासिलाइ अनिवार्य स्वाथ्य बिमाका कार्यक्रम सञ्चालन हुने भएको छ । यस कार्यक्रमको लागी सङ्घ र प्रदेश सँगको समन्वयमा कार्यक्रम सञ्चालन हुने भएको छ ।