इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ८ तिनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाइकलपछाडि सवार यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मीरादेवी साह रहेकी छन् । आज बिहान साढे ९ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको को १ ख ५४३० नम्बरको बसले ठक्कर दिई विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१ –०२–०४०प ६४०५ नम्बरको मोटरसाइकल समेतलाई ठक्कर दिएको थियो । सो दुर्घटनाबाट मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय बिमल साहसहित दुई जना घाइते भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दिउसो ११ बजे मीरादेवीको ज्यान गएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार घाइते बिमलको भने सोही अस्पतालमा उपचार जारी छ । दुर्घटनाग्रस्त तीनवटै सवारी साधन र बस चालक धरान १५ का ४२ वर्षीय प्रभु खड्कालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।