इटहरीः बुधबारको शेयर कारोबारबाट नेपालको शेयर बजार परिसुचक नेप्से १२ दशमलव १५ अँकले बढेर ३१ सय २३ दशमलव २४ अङ्कमा कायम भएको छ ।

नेपालको शेयर बजारमा देखिएको यो अहिलेसम्मकै उच्चतम अङ्क हो । कारोबारका हिसाबले समेत अघिल्लो दिनभन्दा ३ अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएका छन् । यो दिन २ सय २५ कम्पनीका २८ करोड एकासी लाख ३ हजार ८ सय ३१ कित्ता शेयर १५ अर्ब ५९ करोड, ५७ लाख ९४ हजार २ सय ५१ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । अपी पावर कम्पनी, दिव्यस्योरी हाइड्रो, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रो र कालिका पावर कम्पनीको शेयर मुल्य १० प्रतिशतभन्दा बढीले कारोबार भएको छ । 

धेरै कारोबार गर्ने कम्पनीमा पनि अपि पावर कम्पनी, अरुण कावेली, अरुण भ्याली हाइड्रो , सानिमा माई हाइड्रोको उच्च कारोबार भएको छ । जुन बुधबारको कारोबारमा सबैभन्दा बढी मूल्य बराबरको कारोबार हुने कम्पनीमा दरिएका छन् । नेपाल सरकारले कुलमान घिसिङ्खलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रक्रिया सुरु गरेको खबरले लगानीकर्ताको आकर्षण हाइड्रोतर्फ भएको कतिपय विष्लेशकको भनाइ छ । लगानीकर्ताको मनोविज्ञान हाइड्रोतिर गएकै कारण धेरैजसो हाइड्रोको कारोबार बढेको छ भने लगानीकर्ता नसोचेको नाफा गरिरहेका छन् ।