इटहरीः अर्थ मन्त्रालयको सचिवमा सरुवा भएका मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालकको रुपमा बुधबार सपथग्रहण गरेका छन् ।

मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन । बुधबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश के.सी.ले सचिव मरासिनीलाई शपथ ग्रहण गराए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था भएकाले मरासिनीलाई सपथ ग्रहण गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गभर्नर र राष्ट्र बैंकका अन्य सञ्चालकले प्रधानान्याधीश तथा उनले तोकेको न्यायाधीशसमक्ष सपथ ग्रहण गर्ने गरेका छन् । शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायतको उपस्थिति रहेको राष्ट्र बैँकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।