इटहरीः यस अघि वडा नम्बर १३ र १९ का सचिवहरूले प्रयोग गर्दै आएको मोटरसाइकलको चाबी खेसेर चर्चामा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीले पुनः अर्का सचिवको चाबी खोसेका छन् । आज बिहान साढे १० बजे वडा नम्बर १५ का सचिव गोपाल चौधरीको घरमै पुगेर उनको मोटरसाइकलको चाबी मेयरले लिएका हुन् ।
मेयरले यसअघि पटकपटक गाडी फिर्ता गर्न सूचना दिँदै आए पनि कर्मचारीले नमानेको भन्दै उनले गाडी नियन्त्रणमा लिएका थिए । मेयरले प्रदेश पोर्टललाई भनेका थिए, ‘सक्ने भए २० वटै वडाकै सचिवलाई दिइने हो, तर, कसैलाई पाखा र कसैलाई काखा गरिँदैन ।’
मोटर साइकलको चाबी लिएका मेयरलाई सचिव चौधरीले अब म कसरी अफिस जानु भन्दै दुखेसो पोखेका थिए । मेयर चौधरीले आफू गाविस अध्यक्ष हुँदा सबै वडामा जनताका काम गर्न साइकलमा जाने गरेको भन्दै जवाफ फर्र्कएका थिए, ‘अब साइकलमा अफिस जानू ।’
मेयरले चाबी खोसेको विषयमा वडा सचिवहरू रूष्ट भएका छन् । उनीहरूले पत्रकार सम्मेलन गरेर आफूमाथि मेयरले अन्याय गरेको भन्दै घटनाको सार्वजनिक गर्ने तयारी गर्दै गरेको जानकारी प्रदेश पोर्टललाई दिएका छन् ।