इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रणको माग गर्दै आन्दोलनमा उत्रिएको बीपी प्रतिष्ठान सुधार संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ ।

सहमति भएसँगै प्रतिष्ठानमा आन्दोलनरत पक्षले आन्दालनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयसँग सरकारले गठन गरेको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदन वमोजिम सुझाव कार्ययोजनाको समय सिमाभित्र कार्यान्वयनमा लैजाने साथै यसअघि बनेका प्रतिवेदनहरु सार्वजनिक गरि कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने सहमति भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को दफा ११ घ मा व्यवस्था भए अनुसार चारै जना पदाधिकारी हटाउन सकिने व्यवस्थामा उल्लेख प्रक्रिया आजबाटै सुरु गर्न पनि स्वास्थ्य मन्त्रालय सहमत भएको छ । पदाधिकारी नियुक्तिको लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने विषय पनि सहमतिपत्रमा समेटिएको छ । यस्तै, प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायहरुमा विचाराधीन उजुरी तथा मुद्दाहरुको कारबाहीको प्रक्रियाका अवस्था बुझेर सिघ्र फछ्र्यौटको लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवं सहजीकरण गर्ने, प्रतिष्ठानमा भएको बेथितिबारे छानबिन गर्न अबको सञ्चालन परिषद (सिनेट) ले संयुक्त संघर्ष समितिको पनि प्रतिनिधित्व हुनेगरी अधिकारसम्पन्न उच्चस्तरीय आयोग बनाउने भएको छ ।

bp press release.

सहमतिपछि डिन कार्यालयमा लगाइएको ताला खोल्न आाफूहरु तयार भएको संघर्ष समितिका संयोजक डा.एसपी रिमालले जानकारी दिए । आफूहरुले राखेको १२ बुँदे मागको सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम भने यथावत राखिने संयोजक रिमालले उल्लेख गरे । मन्त्रालयसँग भएको सहमतिपछि प्रतिष्ठानका चारैजना मुख्य पदाधिकारीलाई पदमुक्त गर्ने प्रकृया प्रारम्भ भइसकेकाले निजहरुलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न पनि संयोजक रिमालले आग्रह गरे । पदाधिकारीहरुले राजीनामा नदिएसम्म उनीहरुका कार्यकक्षमा लागेको ताला खोल्न भने आफूहरु तयार नहुने रिमालले प्रष्ट पारे । उनले भने, ‘प्रतिवेदनले नैतिकताको आधारमा पदाधिकारीहरुलाई पदमा बस्न नमिल्ने प्रष्ट पारिसकेको छ । उहाँहरुका लागि पदाधिकारीहरुको कार्यकक्ष खोलिदैंन । मन्त्रालयले प्रतिवेदन कार्यन्वयन गरे पछि हाम्रा आन्दोलनका कार्यक्रम सबै फिर्ता हुनेछन् ।’

bp 1