इटहरीः १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.–६ बस्ने बर्ष २३ को सुर्य राई भन्ने व्यक्तिले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.–६ बस्ने बर्ष २२ को संगम राईबाट नगद रू.१,१८,०००।– (एकलाख अठार हजार), जिल्ला भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं.–६ बस्ने बर्ष १९ को सागर राईबाट नगद रू १,१८,०००।– (एकलाख अठार हजार) र जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.–८ बस्ने बर्ष १९ को सरोज राईबाट नगद रू. २,००,०००।– (दुईलाख) लिएको खुल्न आएको र उक्त कार्यमा संलग्न ६ जनालाई १ नं. प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएकोमा शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नं.–६ बस्ने वर्ष २३ को सुर्य राई, सोही स्थानका १९ वर्षीय सागर राई, सोही स्थानका २२ वर्षीय संगम राई, धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.–८ बस्ने वर्ष १९ को सरोज राई, सोही ठाउँका २७ वर्षीय राजकुमार राई र धनकुटाकै शहीदभूमि गाउँपालिका वडा नं.–३ बस्ने बर्ष २१ को खपाङ राई रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।