काठमाडौँः इटहरीकी चन्द्रकलाको (नाम परिवर्तन) धनकुटा सहिदभूमी गाउँपालिकाका किसान राईसँग फेसबुकमा चीनजान भयो । गफकै क्रममा घरमै बसेकी चन्द्रकलालाई किसानले काम के गर्नुहुन्छ ? भनेर प्रश्न गर्छन्। चन्द्रकलाले काम खासै छैन बरु खोजिदिन आग्रह गर्छिन्। किसानले कम्बोडियामा काम गर्न जाने हो ? भनेर प्रश्न गर्छन् ।

चन्द्रकलाले तलब र कामको बारेमा सोधखोज गर्छिन् । कम्बोडिया जान भिसा खर्च साढे चार लाख रुपैयाँ लाग्ने र तलब मासिक एक लाख रुपैंया हुने जानकारी किसानले चन्द्रकलालाई गराउँछन् । यत्ति कुरा सुनेपछि चन्द्रकलाले इटहरीमा रहेको घडेरी बेचेरै कम्बोडिया जाने तयारी गर्छिन् ।

गएको वैशाखमा चन्द्रकला पैसा लिएर काठमाडौं आउँछिन् । किसानले चन्द्रकलाजस्तै ७७ जनाबाट कम्बोडियामा घरेलु कामदारको रुपमा लाने भन्दै जनही चार लाख ५० हजार रुपैयाँ उठाएका हुन्छन् । काठमाडौँबाट किसानले सबै महिलालाई झापाको काकडभिट्टाबाट भारतको बाटो हुँदै आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मणिपुरबाट म्यानम्यार र थाइल्याण्ड हुँदै कम्बोडिया पुर्याउँछन् ।

कम्बोडियामा सामान्य घरेलु कामदारको रुपमा सरसफाई एवं भान्सेको काम गर्ने भनिएपछि त्यहाँ रहेका चिनियाँ नागरिकले चन्द्रकला लगायत महिलालाई यौनकर्मीको रुपमा काममा लगाएर शोषण गरेपछि उनीहरुमध्ये केही भागेर नेपाल आउँछन् ।

नेपाल आएपछि चन्द्रकलासहित केही महिला प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिन पुग्छन् । सुरुमा वैदेशिक रोजगार ठगी मुद्दामा कारवाही गर्न भन्दै ब्यूरोमा पुगे पनि प्रहरीले यौन दुर्व्यवहारको कुरा सुनेपछि मानव बेचबिखन तथा ओसारपसारमा मुद्दामा जाहेरी दिए किसानलाई कारबाही गर्ने बताएपछि पीडित महिला तयार हुन्छन् । ब्यूरोले अनुसन्धानकै क्रममा किसानलाई गएको असार १२ गते धनकुटाबाटै पक्राउ गर्यो । किसानविरुद्ध कम्बोडियामा अन्य ४५ जना नेपालीलाई अलपत्र बनाएको मुद्दामा समेत फरार रहेको देखियो ।

दोस्रो घटना
अर्को घटना दर्दनाक छ । फागुनमा दाङका एक दम्पत्ति वैदेशिक रोजगारका लागि टर्की पुग्छन् । टर्कीमा दम्पत्ति दुवैले घरेलु कामदारकै रुपमा काम गर्न सुरु गरे । जसले दम्पत्तिलाई टर्की पुर्याएको थियो, त्यसले श्रीमतिलाई भने इजरालयमा झन् राम्रो तलब दिने आश्वासनमा त्यतै पठाए । घरमा आमा बिरामी परेपछि श्रीमान नेपाल फर्किए ।

उता इजरायलमा श्रीमतिलाई यौन दुर्व्यहार भएको खबर आएपछि उनी प्रहरीमा पुगे । ब्यूरोमा भावविह्वल अवस्थामा भेटिएका उनी राम्रो पैसा आम्दानी हुने आश्वासनमा टर्की पुगे पनि श्रीमतिमाथि भएको यौन हिंसा आफूले सहन नसकेको बताउँछन् । ब्यूरोले अहिले इजरायल दुतावासमार्फत उनकी श्रीमतीलाई फर्काउने प्रयास गरिरहेको छ । माथिका दुई घटना विदेशमा नेपाली चेलीले भोगेका हृदयविदारक देखिन्छ। नेपाल भित्रै पनि फ्ल्याट भाडामा लिएर युवतीमाथि यौन हिंसा गर्ने गरेको रहस्य फेला परेको छ ।

के गर्दै छ प्रहरी ?
काठमाडौंमा आमाको उपचारका निम्ति आएकी एक युवतीलाई दुई महिलाले ललाईफकाई जबर्जस्ति यौन हिंसा गरेको फेला परेको छ । ती पीडित युवतीले प्रहरीमा बयान दिए अनुसार बाफलकी बिना लिम्बू र थानकोटकी प्रिति थापामगरले पटकपटक परपुरुषसँग यौनसम्पर्क गर्न लगाएकी छिन् । गत चैतमै नाबालिकाको अगाडि नै पर पुरुषसँग वेश्यावृत्ति गर्न लगाएको आरोप युवतिको छ । ब्यूरोमा युवतिले थापामगर र लिम्बूविरुद्ध उजुरी दिएपछि प्रहरीले दुवैलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

ब्यूरोकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहका अनुसार मानव तस्करको जालो भयावह छ । नेपालका सोझासाझा युवती एवं महिलालाई ललाईफकाई विदेशमा लैजाने र काम वेश्यावृत्तिमा लगाउने गरेको घटना ब्यूरोमा थुप्रै रिपोर्ट भएका छन् । मानवतस्करको जालो भारतको कोेठी हुँदै कम्बोडिया, ईजरायहुँदै युक्रेन, अमेरिका, चीन, थाईल्याण्ड, साउदी अरेयिबा लगायत खाडी मुलुकमा फैलिएको सिंह बताउँछिन् । वैदेशिक रोजगारमा भने अनुसार काम नपाएपछि नेपाल फर्किएका कामदारले आफू बेचिएको जान्दाजान्दै पनि मानव बेचबिखनमा मुद्दा दर्ता गर्न हिचकिचाउने गरेको ब्यूरोले जनाएको छ । ‘सकेसम्म आफ्नो लगानी उठे कसैलाई पनि मुद्दा चलाउन तयार देखिंदैनन् पीडितहरु,‘ एसएसपी सिंहले भनिन्,‘ यस्ता क्रियाकलापले मुख्य आरोपी जहिल्यै कानुनी कारबाहीबाट उन्मुक्ति पाउँछ ।’

जान्दाजान्दै किन विदेश जान्छन् युवति ?
ब्यूरोले मुद्दा चलाउन सुरु (२०७५÷०७६) गरेदेखि हालसम्म पाँच सय ३० वटा मुद्दा दर्ता गरिसकेको छ । अधिकांश मुद्दा नेपालमा दलालले एउटा काम भनेर विदेश लाने र उता पुर्याएपछि अर्कै धन्दामा लगाउने गरेको गुनासो छ । केहीले त जानीजानी नै विदेश गएको र उता दुःख पाएपछि नेपाल फर्किन परेको दुःखेसो ब्यूरोका प्रहरीलाई गरेका छन् ।

एसएसपी सिंहले भनिन्,‘यतै दलालले भनेको हुन्छ कि तपाईंहरु घरेलु कामदारको रुपमा जाने हो । तर, घरेलु काम केहो भन्नेबारे जान्दाजान्दै पनि युवती र महिला विदेश पुग्ने गरेको गुनासो हामीलाई गर्छन् ।’ स्वदेशमा रोजगारी नहुँदा आर्थिक अभाव, देखासिकी र पेट पाल्नकै निम्ति पनि जबर्जस्ती गलत पेसामा महिला विदेशमा धकेलिनु परेको ब्यूरोको अध्ययनले देखाएको छ ।

‘आफू बेचिएको थाहा हुँदाहुँदै पनि महिला विदेश जान बाध्य भएको पाइयोे,‘एसएसपी सिंहले भनिन्,‘अमेरिका, टर्की, इजरायल र अफ्रिकन मुलुकमा अहिले पनि चोरबाटो हुँदै नेपाली युवति गइरहेका छन् ।’ नेपाली दिदीबहिनीलाई विभिन्न जिल्लबाट काठमाडौँ ल्याएर केही दिन राख्ने र भारत हुँदै तेश्रो मुलुकसम्म लाने गरेको समेत देखिन्छ ।

नियन्त्रण सम्भव छ ?
सरकारले वैधानिक रुपमै सम्बन्धित मुलुकसँग रोजगार सम्झौता गरेर वैदेशिक रोजगारमा मान्छे पठाउन थाल्यो भने धेरै नेपाली बेचिनबाट जोगिने बुझाइ ब्यूरोको छ ।

एसएसपी सिंहका अनुसार जसरी कोरिया, मलेसिया, साउदी अरेबियालगायत खाडी मुलुकसँग रोजगार सम्झौता भएका छन्, त्यसैगरी अन्य मुलुकसँग रोजगार सम्झौता गरेर कडाइका साथ मान्छे पठाउन थालियो भने मानव तस्करीको घटना नियन्त्रणमुखी हुने देखिन्छ ।

खासगरी नेपाल–भारत खुलासीमानाका कारण पनि तस्करले चोरबाटे प्रयोग गरेर भारत पुर्याउने र त्यहाँबाट सम्बन्धित मुलुकमा कामदार पठाउने गरेको ब्यूरोको अनुसन्धानले देखाएको छ ।

‘हामी एक पटक अनुसन्धानका लागि तराईका केही जिल्ला पुग्यौं,‘ सिंहले भनिन्,‘त्यहाँ हजारौं बिघा जमिन बाँझै छ । कारण, त्यहाँका युवा जनशक्ति वैदेशिक रोजगारमा छन्। अर्को सिंचाईको प्रबन्ध नहुँदा खेतियोग्य भूमी प्रयोगमा छैनन् । सरकारले यी विषयमा ध्यान दिने हो भने पनि हजारौं युवाको स्वदेशमै रोजगारी सम्भव छ ।’ -सुनौलो नेपाल डट कमबाट