धरानः धरानमा कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप १ हजार ८ जनाले लगाएका छन् ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार आज पहिलो दिन कोरोना विरुद्धको खोप ५०७ जना पुरुष र ५०१ जना महिलाले लगाएका हुन् । बुधबार वडा नं. २ को सिंहदेवीस्थित पुरानो बालिका स्कुलमा १२०, वडा नं. ३ को भानु स्मृति माविमा १५०, वडा नं. ४ को हर्दियास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५२, वडा नं. ६ को पानवारीस्थित सरस्वति माविमा २१०, वडा नं. ७ को सिद्धि नेवाः परिषदमा १२४, वडा नं. ९ को समिट माविमा १४२ र वडा नं. १० को सैनिक भवनमा २१० जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको स्वास्थ्य महाशाखाका अधिकृत दीपा अधिकारीले जानकारी दिइन् । अधिकृत अधिकारीका अनुसार ५० देखि ५४ वर्ष उमेर समुहका ६२१, अति अपाङ्ग तथा पूर्ण अपाङ्गता भएका १९, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु र सरसफाइकर्मीहरु १३९ र वैदेशिक रोजगारमा जाने २२९ जनाले खोप लगाएका हुन् । जोनसन एण्ड जोन्सन खोप धरानका लागि ५ हजार आएको छ ।

225081212_955253788655079_28810249620425872_n

यस्तै, धरान वडा नं. १ स्थित उद्योग वाणिज्य संघमा ३५७ जना उद्योगी व्यवसायीले भेरोसेल खोप लगाएका छन् । जसमा २०४ पुरुष र १५३ जना महिलाले खोप लगाएका छन् । आज छुटेका व्यवसायीहरुले उक्त खोप केन्द्रमा बिहीबार पनि खोप लगाउनेछन् । उद्योगी व्यवसायीका लागि भनेर ७ सय भेरोसेल खोप छुट्याइएको छ । भेरोसेल खोप धरानका लागि ३ हजार आएको छ । उक्त खोप केन्द्रमा साउन २२ र २३ गते ५५ वर्षमाथिका र मानवअधिकारकर्मी, बीमा, लघुवित्त, आईएमई, सहकारी, सञ्चारकर्मी, छुटेका कर्मचारी, रेडक्रस, लायन्स क्लब, रोटरी, संघ सँस्था, छुटेका सँस्थानका कर्मचारी, इन्टरनेट–केवलमा कार्यरत कर्मचारी, सैलुनमा कार्यरत मजदुरलाई भेरोसेल खोप लगाइने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

225289977_1000281824052555_6160470132021281580_n

मेयर तिलक राईको नेतृत्वमा बुधबार धरानका विभिन्न खोप केन्द्रहरुमा अनुगमनसमेत गरिएको थियो । मेयर राईको नेतृत्वमा जिल्ला समन्वय समितिका अध्यक्ष एवं खोप संयोजक गोपाल राज भण्डारी, धरानका विभिन्न राजनितिक दलका नेता, उपमेयर मञ्जु भण्डारी, राजश्व महाशाखा प्रमुख एवं सूचना अधिकृत खगेन्द्रप्रसाद भण्डारी, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापासहितको टोली अनुगमन गर्न खोप केन्द्रहरुमा पुगेको थियो । अनुगमन गर्न पुगेको टोलीले खोप केन्द्रमा यस पटक एकदमै शान्तिपूर्ण वातावरणमा खोप कार्यक्रम सञ्चालन भएको पाएको थियो ।

यस्तै, साउन २१ गते बिहीबार वडा नं. ११ को लागि ज्ञानोदय मावि, वडा नं. १२ को लागि पब्लिक हाई स्कुल, वडा नं. १४ को लागि दन्तकाली मावि, वडा नं. १६ को लािग चन्द्र सँस्कृति मावि, वडा नं. १७ को लागि पञ्चायत मावि रेल्वे र वडा नं. १९ को लागि किराँतेश्वर माविमा खोप केन्द्र रहनेछ । यसैगरी, अन्तिम दिन २२ गते शुक्रबार वडा नं. १ को लागि छाता चौकस्थित धरान स्वास्थ्य चौकी, वडा नं. ८ को लागि सभागृह, वडा ५ को लागि पाँचकन्या स्वास्थ्य चौकी, वडा नं. १३ को लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. १३, वडा नं. १५ को लागि पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय, वडा नं. १८ को लागि कार्मेल हाई स्कुल र वडा नं. २० को लागि विष्णुपादुका स्वास्थ्य चौकीमा खोप लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।

219198124_229505905752275_5902261905770176932_n 220942519_904052776987810_6396669386271928284_n 223144126_235585451757363_5352437942485285265_n