इटहरीः मनसुनी वायुको प्रभावबाट आज देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बाग्मति प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ ।
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले प्रदेश १, बाग्मति, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा समेत हुनसक्ने बताएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मति र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले नदी तटीय क्षेत्रका सर्वसाधारणमा अपिलसमेत गरेको छ ।