इटहरीः मनसुनी वायुको प्रभावका कारण देशभर जारी वर्षाले बाढीको जोखिम बढाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसीका सबै सहायक नदीहरुका साथै महाकाली, सुनकोसी, नारायणी, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतका ठूला नदीहरुमा बहाव बढ्ने सम्भावना रहेको छ । यद्यपि, कुनै पनि नदीको बहावले खतराको तह भने पार नगर्ने महाशाखाले प्रष्ट पारेको छ ।

आज प्रदेश १ को पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं र मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशको सल्यान, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेलधुरा, अछाम र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहावमा तिव्र परिवर्तन देखिनेछ । नदीमा बढ्ने बहावका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दासमक्ष अपिल गरेको छ ।