इटहरीः विदेश जाने प्रयोजनका लागि आवश्यक पर्ने खोप प्रमाणपत्र (भ्याक्सिन सर्टिफिकेट) आजदेखि अनलाइनमार्फत् वितरण गरिने भएको छ ।

क्युआर कोडसहित प्रदान गरिने खोप प्रमाणपत्र प्राप्त गर्न स्वास्थ्य सेवा विभागको वेबसाइटमा गई माग बमोजिमको व्यक्तिगत विवरण भरेर कागजातसहित ‘सब्मिट’ गर्नुपर्ने विभागले जनाएको छ । अनलाइन सेवा लिन असमर्थहरुले आजदेखि (बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शनिबारसमेत) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरबाट सोझै सेवा लिन सक्नेछन् । खोप प्रमाणपत्र प्राप्त गर्नका लागि सेवाग्राहीले सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, राहदानीको फोटोकपी, खोप कार्डको फोटोकपी, कबुलियतनामासहित अनलाइनबाट डाउनलोड गर्न सकिने छ भने फारम भर्ने स्थानमा पनि उपलब्ध हुनेछ ।

तीन दिनभित्र विदेश जान चाहनेहरुले अन्य कागजातका अतिरिक्त भिसाको फोटोकपी र टिकटको फोटोकपीसमेत संलग्न गर्नुपर्नेछ । यसैबीच, सर्वसाधारणको चापलाई व्यवस्थित गर्न सरकारले अब जिल्लाबाटै खोप प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाएको छ ।