झापाः सडक निर्माणमा खटिएका मजदुर कर्मचारीले कोरोनाविरुद्धको खोपको माग गर्दै निर्माणाधीन सडकको काम बन्द गरेका छन् ।

कनकाई इन्टरनेसनल विल्डर्समा कार्यरत मजदुर कर्मचारीले सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडकखण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरेका हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए । उनले भने, ‘खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।’ खोपका लागि मजदुर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेस गरिएको उनले जानकारी दिए । सो सडकखण्डको निर्माणमा एक सय ३० मजदुर–कर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिनाअघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अमरपथ सडक खण्डको शिलान्यास गरेका थिए ।

उक्त सडकको लम्बाइ सुरुङदेखि भारतको सीमा नाका डिगल बैङ्कसम्म २४ किलोमिटर छ । पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत एक अर्ब चार करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७ दशमलव ८ किलोमिटरको ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले ५७ करोडमा लिएको छ । विसं २०७६ भदौ १६ गते ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कम्पनीले विसं २०८० भदौ १५ गतेभित्र गरिसक्नुपर्नेछ । -रासस