इटहरीः हाइड्रोपावरका क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले राम्रो कमाइ गरिरहेकै बेला सोलुखुम्बु जिल्लाका बासिन्दालाई लगानीको अर्को अवसर जुट्ने भएको छ ।

सोलुखुम्बु जिल्लाको दुधकोसीनजिकै विद्युतीय प्लान्ट निर्माण गरिरहेको साहस उर्जा कम्पनी लिमिटेडल आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साउन २९ गतेबाट १ सय रुपैयाँ अङ्कित मूल्य भएका ३५ लाख कित्ता साधारण शेयर प्रभावित स्थानीय बासिन्दाको लागि बिक्री गर्दैछ । छिटोमा भदौ ११ र ढिलोमा भदौ २७ गतेसम्म आईपीओ बिक्री खुल्ला रहनेछ ।

सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकका लुक्ला, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा त्यसैगरी माछापुच्छ्रे बैंकको सल्लेरी शाखा र प्राइम कमर्सियल बैंकको रमिते शाखा सोलुखुम्बुबाट आवेदन दिन सक्ने कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ । लगानीकर्ताले सी आश्वामा आबद्व बैंक तथा वित्तीय संस्थाबाट समेत साधारण शेयरमा आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म शेयर माग गर्दै आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।