इटहरीः साताको अन्तिम दिन बिहीबारको कारोबारबाट नेपालको शेयर बजार परिसूचक नेप्से १६ अङ्कले घटेको छ । 

बुधबार उत्साहजनक रहेको शेयर बजार बिहीबार १६ अङ्कले घटेर ३१०७ दशमलव ४५ अङ्कमा कायम भएको छ । परिसूचक घटेपछि नेप्सेको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स भने बढेको छ । बिहीबार वाणिज्य बैंक र विकास बैंकबाहेक बाँकी सबै ११ वटा समुहको कारोबारमा रातो देखिएको छ भने विकास बैंक समुहको भने कारोबारमा अघिल्लो दिनभन्दा १०८ अङ्कको सुधार देखिएको छ । बजारमा धेरैजसो विकास बैंकको कारोबार रकम बढेसँगै शेयर मूल्यमा पनि वृद्धि भएको छ । 

आज जीवन विकास लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक र नेपाल फाइनान्स लिलिटेडका लगानीकर्ता मालामाल भएका छन् । यी तीनै कम्पनीको शेयर मूल्य १० प्रतिशतभन्दा बढीले उकालो लागेपछि यसका लगानीकर्ता फाइदामा छन् । आज युनिभर्सल पावर कम्पनी, हिमालयन पावर कम्पनी, शिभश्री हाइड्रो लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यी कम्पनीको शेयर मूल्यमा ५ प्र्रतिशतभन्दा ठूलो गिरावट आएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । बिहीबार २ सय २५ कम्पनीका २८ करोड ८१ लाख ३ हजार ८ सय ३१ कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रुपैयाँ बराबरका शेयर स्टकमा खरिद बिक्री भएका थिए ।