विराटनगरः अन्तर प्रादेशिक विकासमा सहयोग साटासाट गर्ने उद्देश्यसहित प्रदेश नम्बर २ नागरिक सम्पर्क मञ्च विराटनगर गठन गरिने भएको छ ।

प्रदेश २ बाट बसाइँसराइँ गरेर तथा विभिन्न सिलसिलामा प्रदेश नम्बर १ मा बसोबास गर्दै आएका पेशाकर्मीले सम्पर्क मञ्च गठन गर्ने तयारी थालेका हुन् ।

प्रदेश १ मा रहेका प्रदेश २ का प्राध्यापक, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, पत्रकारसम्बद्ध समिति गठन गर्ने तयारी गरिएको बताइएको छ । सम्पर्क मञ्च तयारी समितिको लागि ५ सदस्यीय समिति गठन गरिएको प्राध्यापक महेन्द्र यादवले जनाए ।

विराटनगरमा बुधबार भएको प्रारम्भिक भेलाले मृत्युञ्जय मिश्रको संयोजकत्वमा राकेशरोशन यादव, वीरेन्द्र झा, जितेन्द्र साह, अरबिन्द मण्डल सदस्य रहेको सम्पर्क मञ्च तयारी समिति गठन गरेको छ । समितिलाई बृहत र व्यवस्थित बनाउनका लागि महेन्द्र यादव, सनातन मण्डल, भगवान झा, जीतु चौधरी, जयनाथ यादव र जितेन्द्र ठाकुरलाई सल्लाहकार चयन गरिएको बताइएको छ ।

भेलामा प्रदेश नम्बर २ का कृषि मन्त्री शैलेन्द्र साहको पनि उपस्थिति थियो ।