इटहरीः खूल्ला सिमाना तथा प्रहरी संयन्त्र पर्याप्त नहुनुले पछिलो समय लागूऔषध कारोबारको मुख्य केन्द्र इटहरी बन्दै गएको छ ।

गाँजा, चरेस, ब्राउनसुगर, फेनारगन, लगायतका लागूऔषध इटहरीमा खरिद बिक्री हुने गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा ३१ जना पक्राउ गरेको इलाका प्रहरी कार्यालयले आर्थिक २०७७÷७८ मा ४९ जना पक्राउ गरेको छ । यस समुहमा २१ जना २१ देखि २५ वर्ष उमेर समुहका रहेका छन् । त्यस्तै मुद्दा दर्तामा अघिल्लो आर्थिक वर्षमा २४ वटा दर्ता भएका थिए भने २०७७÷७८ मा २७ वटा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७÷७८ मा ब्राउनसुगर २९९ ग्राम, नाइट्रोभेट एक हजार सात सय एक ट्याब्लेट नाइट्रोजन १७ हजार ३८ ट्याब्लेट लगायतका लागूऔषध बरामद गरेको प्रहरीको आँकडामा उल्लेख छ ।

कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थी लागूऔषधमा फस्ने गरेको प्रहरीको भनाइ छ । अनलाइन पठनपाठन गर्ने नाममा विद्यार्थीले मोबाइलबाट सञ्जाल बनाई थोरै पैसाको लोभमा लागूऔषध ओसारपसारमा फस्ने गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख, प्रहरी नायबउपरीक्षक अर्जुन केसीले बताए ।