धरानः धनकुटाको साँगुरीगढी, शहीदभूमि र छथर जोरपाटी गाउँपालिकामा जनप्रतिनिधिले कार्यालयको नाममा रहेका सवारी साधन निजी नम्बर प्लेट हालेर दुरुपयोग गरिरहेको खुलासा भएको छ ।

जनप्रतिनिधिले कार्यालयको नाममा रहेका सवारी साधन अनुमतिबिना निजी नम्बर प्लेट राखेर प्रयोग गरिरहेको पाइएको छ । धनकुटाको साँगुरीगढी, शहीदभूमि र छथर जोरपाटी गाउँपालिकामा केही जनप्रतिनिधिले सरकारी सवारीलाई निजी बनाएर प्रयोग गर्दै आएको खुलेको हो । जनप्रतिनिधिले सरकारी सवारीमा आफूखुसी रातो प्लेट प्रयोग गर्ने गरेको स्थानीयहरुले बताएका छन् । धनकुटाका स्थानीय तहमा स्कुटरसहित एक सय वटा मोटरसाइकल छन् । जसमध्ये साँगुरीगढी गाउँपालिकामा अध्यक्ष कुमारजंग याखासहित छ जना, शहीदभूमिमा ६ जना र छथरमा ८ जना जनप्रतिनिधिले प्रयोग गर्ने सरकारी मोटरसाइकल जनप्रतिनिधिले आफैं रातो नम्बरको बनाएर प्रयोग गर्दै आएका छन् ।

उक्त विषयमा अध्यक्ष भने बोल्न चाहेनन् । स्थानीय तहले प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई मोटरसाइकल र इन्धनको सुविधा दिएको छ । उपलब्ध भएको प्रायः सवारीहरुको दुरुपयोग बढ्दै गएको हो । शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले तत्काल सवारी दुरुपयोग नियन्त्रण गर्न पहल गर्ने बताए । जनताले कर तिरेको पैसा खर्च गरेर किनिएका सवारी साधनको दुरुपयोग दिनदिनै बढ्दो अवस्थामा छ । जनताको सेवा गर्छौँ भनेर भोट मागेका जनप्रतिनिधिले सरकारी सम्पत्तिको दुरुपयोग गर्दा राष्ट्रलाई नै ठूलो क्षति पुगेको सर्वसाधारणको अनुभव छ ।

received_832796517626565