इटहरीः आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली देखिएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुन सक्नेछ । यसैगरी, आज रातिको मौसममा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाको अनुमान छ । काठमाडौँमा आज बदली हुने भए पनि वर्षाको सम्भावना भने कम रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

उनका अनुसार काठमाडौंमा आज २८ देखि ३० डिग्री सेल्सियसको बीचमा तापक्रम रहने छ । उनले भनिन्, “तुलनात्मक रुपमा अहिले मनसुन केही कम सक्रिय छ । त्यसैले धेरै स्थानमा भारी वर्षाको सम्भावना कम छ । भारी वर्षाको सम्भावना कम भएकाले बाढी र पहिरोको सम्भावना पनि कम छ, अबको दुईतीन दिन मनसुन थप सक्रिय हुने देखिँदैन । तर, पनि मनसुन सिजन रहेकाले हल्का तथा मध्यम वर्षा र बदली भने हुन्छ ।”