झापाः मेचीनगरका केही वडाहरूमा डेंगु संक्रमण दर उच्च भएपछि नगरपालिकासहित ती वडाहरूमा चेतना अभियान शुरु भएको छ ।

डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे वृत्तचित्र देखाउने, रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, विषादी छिट्ने लगायतका काम शुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाले नगरको वडा नम्बर ३ को तेलपानी क्षेत्र, वडा नम्बर १० को धुलाबारी क्षेत्र, वडा नम्बर १२ को माथिल्लो धाइजन क्षेत्र तथा वडा नम्बर १३ को चारआली आसपास क्षेत्रमा रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य शाखा संयोजक शशीकला राईले जनाइन् ।

‘नगरपालिकाको स्वास्थ्य शाखाबाट खटिएको टोलीले काम थालिसकेको छ’, संयोजक राईले भनिन्, ‘हामीले ज्यादै तीव्र गतिमा प्रभावित क्षेत्रमा काम थालेका छौं ।’ ती वडाहरू डेंगुको उच्च जोखिममा रहेकाले पहिलो चरणमा अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले बताए । उनका अनुसार ती वडाहरूमा केही वर्ष अघि डेंगु ज्वरोका सङ्क्रमित फेला परेका थिए ।

जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर सुपरभाइजर जीवन चौलागाईँ डेंगु रोग उपचारमा भन्दा पनि जनचेतनामूलक अभियानबाटै निर्मुल पार्नु बढी प्रभावकारी हुने बताउँछन् । उनका अनुसार हरेक वर्ष झापामा वर्षा सकिनेबित्तिकै डेंगुका रोगी बढ्ने गर्छन् । झापाका मेचीनगर, बिर्तामोड र दमक नगरपालिका डेंगुको उच्च जोखिममा रहेका छन् । वर्षा सकिएपछि विभिन्न ठाउँमा पानी जमेको हुन्छ । त्यस्तो ठाउँमा लामखुट्टेले फुल पार्ने गर्छ । त्यही लामखुट्टे (एडिस एजिप्टाई, पोथी)ले रोग सार्छ ।

असोज र कात्तिक महिनामा यस्तो सङ्क्रमणको खतरा बढ्ने उनले बताए । यद्यपि जोखिम भने मंसीर मध्यसम्म कायमै रहने यादव बताउँछन् । एसी, गमला, टायर, ड्रम, प्लाष्टिक, कन्टेनरमा एकहप्ता वा त्यसभन्दा बढी समयसम्म पानी जम्यो भने लामखुट्टेले बासस्थान बनाएर फुल पार्छ । स्वास्थ्यकर्मीहरूको टोलीले त्यस्तै ठाउँको खोजी गरी लामखुट्टेको वासस्थान, लार्भा खोजेर नष्ट गर्ने गरेको यादवले बताए । उनका अनुसार ती लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुने गर्छन् ।

डेंगुका लक्षण
डेंगुका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । एक्कासी उच्च ज्वरो आउनु यो रोगको मुख्य लक्षण रहेको स्वास्थ्यकर्मीको भनाइ छ । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहनु हाड, जोर्नी तथा मांशपेशीहरू दुख्नेलगायत डेंगु ज्वरोको मुख्य लक्षण भएको बताइएको छ ।

स्वास्थ्यकर्मीका अनुसार एउटा लामखुट्टेले ५ जनासम्मलाई रोग सार्ने गर्छ । डेंगुको विषाणु भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । गाउँमा भन्दा शहरमा यो लामखुट्टे प्रशस्त पाइने गरेको चौलागाईँको भनाइ छ ।

स्वास्थ्य संयोजक राईले यो रोगबाट बच्ने उपाय र यसका जोखिमका बारेमा प्रष्ट पारेका थिए ।

dengue  (2) dengue  (3) dengue  (4)