इटहरीः नेपालका १६ औं राष्ट्रिय विभूति, समाज सुधारक, दार्शनिक, महागुरु फाल्गुनन्दको १ सय ३४ औं जन्मोत्सव झापामा मनाइएको छ ।

किरात धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको उपस्थितिमा कार्यक्रम भएको थियो । किरात हाङ्साम माङ्हिम शिवसताक्षी – ६ का अध्यक्ष कृष्ण निङ्लेकुको अध्यक्षतामा र प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रदेश १ का सभासद झलकमान दर्लामी, विश्व किरात महासङ्घका केन्द्रीय अध्यक्ष डम्बरकुमार तुम्बापो, शिवसताक्षी प्रमुख चन्द्र शेर्मालगायत अतिथिको रूपमा निम्त्याइएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि र गुरु लाफयङले किरात हाङ्साम माङ्हिमको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । कार्यक्रमका अतिथि तथा उपस्थित सहभागीले महागुरु फाल्गुनन्दको तस्बिरमा माल्यार्पण गरेका थिए । विश्व किरात महासङ्घका महासचिव नाम्लिङहाङ चेम्जोङले महागुरुको संक्षिप्त जीवनी वाचन गरेका थिए । गुरु लाफयङले धार्मिक प्रवचन दिएको कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो । जगत तुम्बापोले सञ्चालन गरेको कार्यक्रममा सञ्जय राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

falguu