झापाः विश्व मधुमेह दिवसको अवसर पारेर बुधबार झापाको मेचीनगरस्थित मेची नेत्रालय एण्ड अफ्थाल्मिक रिसर्च सेन्टर प्रालिले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

अस्पतालका व्यवस्थापक नवराज प्रधानका अनुसार दिवसका अवसरमा ४० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिका लागि कन्सल्टेसन, फन्डस चेकअप तथा मधुमेह परीक्षण निःशुल्क गरिएको थियो । अन्य परीक्षणमा २५ प्रतिशत र शल्यक्रियामा १० प्रतिशत छुटको व्यवस्था गरिएको प्रधानले बताए ।

अस्पतालका प्रमुख डाक्टर शरदचन्द्रप्रकाश राई, डाक्टर त्रिपतेशराज पाण्डे, वरिष्ठ नेत्र सहायक परशुराम भट्टराईलगायतको टोलीले सेवा प्रदान गरेको थियो । ल्याब टेक्निसियन उदय ठाकुर नेतृत्वको टोलीले रगत परीक्षण गरेको थियो ।

प्रधानका अनुसार ४० वर्षमाथि उमेर समूहका ८५ जनाले कन्सल्टेसन सेवा, ३७ जनाले निःशुल्क मधुमेह परीक्षण, १० जनाले शल्यक्रिया तथा अन्य परीक्षणमा १४ जनाले सेवा लिएका थिए ।

मधुमेहका रोगीमा अन्धोपन हुन सक्ने सम्भावना अत्यधिक रहने चिकित्सक बताउँछन् । १५ वर्षसम्म मधुमेहबाट ग्रसित बनेका २ प्रतिशत रोगी पूर्ण रूपमा दृष्टिविहीन हुने सम्भावना रहेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालका डाक्टर लक्ष्मण ठाकुर बताउँछन् । मधुमेहका रोगीमा मृगौलाको रोग हुने सम्भावना पनि अत्यधिक रहेको डाक्टर ठाकुरको भनाइ छ । मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने सम्भावना पनि रहने उनले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको र नेपालको ग्रामीण क्षेत्रमा जम्मा २ प्रतिशत व्यक्ति मधुमेहबाट प्रभावित भएको उनको भनाइ छ ।

विश्वमा झण्डै २२ करोड मानिस मधुमेहबाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो सङ्ख्या दोब्बर हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । नेपालमा पनि ४० वर्ष उमेर समूहका १५ प्रतिशत मानिस मधुमेहबाट ग्रसित रहेको र सो उमेर समूहभन्दा माथिका झण्डै १९ प्रतिशतलाई मधुमेह लागेको अनुमान गरिएको छ ।