झापाः पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासंग्रह प्रकाशित भएको छ । उनको यो पाँचौँ कृति हो ।

कथा, निबन्ध र नियात्रालगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम पत्रकार सिग्देल युवापुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । २०७३ सालमा ‘जीवनको गति’ पुस्तकबाट उनले कृति लेखन कार्य सुरु गरेका हुन् ।

मनको कैदी मनको परिधिभित्र लेखिएको कथासंग्रह हो भन्दा फरक पर्दैन । पुस्तकमा संगृहीत १३ वटा कथा सबै नै मनोवैज्ञानिक शैलीका छन् । मान्छेका मनमा उर्लिएका भावना र विचारको मेल नै यो कथा संग्रहको सार हो । मान्छे नबुझी कथा लेख्न सकिन्न र मान्छे बुझ्न मान्छेको मनमा पस्न सक्नुपर्दछ भन्ने मान्यता राख्ने लेखकले मनको कैदी पुस्तकमा अनौठो प्रयोग गरेका छन् ।

त्यहाँ समेटिएको ‘उर्लंदो समुद्र र भावना’ शीर्षकको कथाको तीन भाग छ, जसलाई नेपाली साहित्यमा अलग्गै प्रयोगका रूपमा लिइएको उनको दाबी छ । मान्छेका मनभित्र गुम्सेर रहेका अव्यक्त भावहरु बुझ्ने र बुझाउने प्रयोगात्मक शैली यसमा अपनाइएको छ । उनको यसअघि प्रकाशित मनोनेट कथासङ्ग्रह पनि त्यही मनको सिद्धान्तमा आधारित थियो । त्यो किताबले धेरै मान्छेको मन जित्यो । उनको यस कृतिमा पनि मनोनेट शैली नै झल्किन्छ तर अर्को रूपमा ।

लेखक भन्छन्, ‘खासमा भन्ने हो भने एउटा लेखकले मान्छेको मनभित्र पसेर लेख्न सक्नुपर्छ । म त्यही शैली अपनाउँछु, जहाँ मान्छेहरुको कथा, व्यथा झल्किन्छ ।’ मान्छेको मनभित्र गुम्सिएर रहेका कतिपय भावनाको प्रकटीकरण उनको लेखाइको मूल पक्ष हो । -रासस