इटहरीः मनसुनी वर्षा जारी रहेका कारण सप्तकोसीका सब सहायक नदीहरुसहित देशका ठूला नदीहरुमा बहाव बढ्ने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसीका अतिरिक्त कर्णाली, कन्काई, बाग्मति, पूर्वीराप्ति, पश्चिम राप्ति र यिनका सहायक नदीहरुको बहाव उच्च हुने भएको छ । यसैगरी, नारायणी, महाकाली, कमला, तिनाउ, बबई लगायतका नदीको बहावमा पनि सामान्य वृद्धि हुने महाशाखाको पूर्वानुमान छ । बहावले सतर्कताको तह भने पार नगर्ने देखिएको महाशाखाले जनाएको छ । प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, खोटाङ, भोजपुर तथा प्रदेश २ को रौतहट र धनुषाका नदी तथा खोलामा पनि बहाव बढ्नेछ । बाग्मति प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, मकवानपुर, र चितवनमा तथा गण्डकी प्रदेशको म्याग्दी, बागलुङका नदी तथा खोलाको जलस्तर पनि उच्च हुने महाशाखाको अनुमान छ ।

लुम्बिनी प्रदेशको पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, कपिलवस्तु, दाङ र बाँकेका नदी तथा खोलामा तथा कर्णाली प्रदेशको दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र हुम्लाका नदी तथा खोला पनि उच्च बहावका साथ बग्नेछन् । सुदरपश्चिम प्रदेशको बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव आउन सक्ने महाशाखाले जनाएको छ । पानीको बहाव उच्च हुने भएकाले सतर्कता अपनाउन नदी तटीय क्षेत्रका स्थानीयमा महाशाखाले अपिलसमेत गरेको छ ।