इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको पर्यटकीयस्थल तालतलैयामा राखिएका संरक्षित पशुपक्षीका लागि आहार अभाव भएको छ ।

कोरोना महामारीका कारण यहाँ आउने पर्यटकको संख्या शून्यप्रायः भएकाले संरक्षित पशुपक्षीका लागि आवश्यक आहार व्यवस्थापन गर्न कठिनाइ भएको तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले जानकारी दिए । सामान्य समयमा दैनिक १५ सयदेखि दुई हजारसम्म पर्यटक यहाँ आउने गर्थे । सरकारी बिदाको दिन त यहाँ घुम्न आउने खचाखच नै हुन्थे । अहिले त्यो संख्या शून्यप्रायः छ । केही दिन यता दैनि एक÷दुई दर्जन जति घुम्न आए पनि त्यसले यहाँका संरक्षित पशुपक्षीका लागि आवश्यक पर्ने आहारको व्यवस्थापनका लागि कठिनाइ भएको अध्यक्ष लिम्बू बताउँछन् । पुरानो मौज्दातले साउन महिनाको पहिलो सातासम्म धानेको भए पनि त्यसयता आहारको अभाव भएको तालतलैया विकास तथा संरक्षण समितिले जनाएको छ । दाताहरुले दिएको सहयोगबाट अहिले यहाँ आहारको व्यवस्थापन हुँदै आए पनि त्यो अपुग रहेको समितिले बताएको छ ।

IMG_0596

 

कोरोना महामारी साम्य हुँदै जाँदा अन्य व्यवसायहरु धमाधम खुले पनि तालतलैयाजस्ता ठाउँबाट कोरोना सर्ने भन्दै सरकारले पर्यटकीयस्थल तत्काललाई खुलाएको छैन । जसले पर्यटकीयस्थलको भौतिक विकास, अर्थिक संकलन, तलब वितरण र आहार व्यवस्थापनमा कठिनाइको चाङ लागेको छ । तालतलैयको पनि अवस्था यस्तै छ । यहाँ अहिले चित्तल, मृग, अजिङ्गर, खरायो, बाँदर, मयुर, बकुल्ला, हाँस, चीलसहित विभिन्न प्रजातिका पशुपक्षी संरक्षित गरी राखिएको छ । तालतलैयामा प्रकृतिक सौन्दर्यसँगै यी पशुपक्षीलाई हेर्नकै लागि पनि पर्यटकहरु आउने गरेका थिए । आहारको अभाव भएकाले अहिले हारगुहार नै गर्नुपर्ने अवस्था भएको समितिको भनाइ छ । अहिले विभिन्न व्यक्ति तथा संघसंस्थाले भौतिक विकासमा सहयोग गरे पनि आहार व्यवस्थापनमा सहयोग नभएको समितको भनाइ छ ।

IMG_0593