विराटनगर/ ‘सफा सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ को अवधारणा सहित प्रदेश राजधानीका लागि विराटनगरको भौतिक विकासलाई प्राथमिकता दिँदै देशकै कान्छो महानगरपालिका विराटनगरले आइतबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।

महानगरले ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको हो । महानगरपालिकातर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनातर्फ १ अर्ब ९४ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक भएको हो ।

आन्तरिक स्रोतबाट ५४ करोड ३ लाख, राजस्व बाँडफाँडबाट ३७ करोड ५ लाख, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ५३ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने महानगरको अनुमान छ । विषयगत कार्यालयको ४४ करोड ९६ लाख, संघीय सरकार समपूरक र विशेष अनुदानबाट १० करोड, संघीय सरकार सशर्त अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगर विकास कोषको ऋण सहयोग १ करोड ८० लाख, मौज्दात ७ करोडसहित जम्मा २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

चालुतर्फ ३३ करोड ६८ लाख ५२ हजार, सामाजिक सुरक्षा भत्तामा २० करोड, भौतिक पूर्वाधारका लागि ३ अर्ब २५ करोड ३ लाख ३३ हजार खर्च हुने अनुमान गरिएको छ ।
महानगरले विभिन्न योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । जसमध्ये शहर व्यवस्थापन, बाढीका कारण समस्यामा परेका जनताको व्यवस्थापन, खोला नियन्त्रण, सूचना प्रविधिको विकास, बेटी बचाउ अभियान आदि प्रमुख रहेका छन् ।