इटहरीः आज प्रदेश १ सहित देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुन सक्नेछ । यस्तै देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । विभागले आज राति देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मति प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । भारी वर्षाको सम्भावना भएका क्षेत्रका कमजोर पहाडमा पहिरो तथा भू–क्षय र नदी तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम हुने जनाउँदै महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।