सङ्खुवासभाः चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेको छ । चिनियाँ व्यापारी किसानको बोटसम्मै पुगेर नेपाली रुद्राक्ष खरिद गर्न थालेका छन् । चीनका विभिन्न बजारमा रुद्राक्षको माग बढेपछि व्यापारी सङ्खुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् ।

अघिल्ला तीन वर्षसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे । तर गत वर्षदेखि ठूलो सङ्ख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयले बताएका छन् । चिनियाँ व्यापारी गाउँसम्म आएपछि किसानले भनेजस्तै मूल्य पाउन थालेका छन् । सिधै चिनियाँ व्यापारीले घरैमा आएर रुद्राक्ष खरीद गरेपछि यहाँका किसानको आम्दानी बढेको स्थानीय व्यापारी काजी तामाङले बताए । केही वर्ष यतासम्म नेपाली व्यापारीले सानो परिमाणमा रुद्राक्ष सङ्कलन गरी काठमाडौं लगेर बिक्री गर्ने गरेका थिए ।

खाँदबारीसहित जिल्लाका केही ठूला बजारका होटल यतिबेला चिनियाँ व्यापारीले भरिएका छन् । चिल्लो, ठूलो र मुखदार रुद्राक्ष चिनियाँ व्यापारीले रुचाउने गरेका छन् । बढी पाइने पाँचमुखे कण्ठे (२१ एमएमभन्दा माथि) रुद्राक्षको मूल्य प्रतिकिलो १० हजारदेखि २० हजारसम्म ती व्यापारीले तिर्ने गरेका छन् ।

पछिल्लो वर्षदेखि चिनियाँ व्यापारी भित्रिएपछि रुद्राक्ष बिक्रीसँगै होटल र अन्य व्यवसायका साथै बैंकिङ कारोबार पनि फस्टाएको व्यापारीहरू बताउँछन् । निजी र सरकारी गरी १३ वटा बैंकले दैनिक १ करोड रुपैयाँभन्दा बढी नगद कारोबार गर्ने गरेका छन् । चीनमा सजावट र शृङ्गारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरेको बताइन्छ । व्यापारीले किसानको बोटबाट नै मोलमोलाइ गर्ने गरेका छन् ।

9 mukhe rudraksha

जति धेरै मुख त्यति नै बढी मूल्य
किसानहरूका अनुसार ३ मुखेभन्दा कम मुखभएका बाहेक जति बढी मुख भयो त्यति नै बढी मूल्यमा रुद्राक्ष बिक्री हुने गरेको छ । यस वर्ष २ मुखेलाई प्रतिगोटा ५ देखि ७ हजार, ३ मुखेलाई २ सय देखि ४ सयसम्ममा किनबेच भएको छ ।

त्यस्तै, ७ मुखे रुद्राक्ष १ सयदेखि ५ सयमा किनबेच हुने गरेको छ । यसैगरी, ८ मुखेलाई १ हजारदेखि १ हजार ५ सय रुपैयाँ पर्ने गरेको छ । ९, १०,११ मुखेलाई १ हजारदेखि ५ हजारसम्म, १२ मुखेलाई २ हजार देखि ४ हजारसम्म र १३ मुखेलाई ५ हजार देखि १० हजारसम्म प्रतिगोटा मूल्य पर्ने गरेको छ । १४ मुखे रुद्राक्ष १५ हजारदेखि ३० हजारसम्ममा बिक्री भएको किसान तथा व्यापारी बताउँछन् ।

त्यस्तै, १५ मुखेलाई १० देखि २० हजारसम्म, १६ मुखेलाई ३० हजारदेखि ७० हजारसम्म, १७ मुखेलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म दाम पर्ने गरेको छ । १८ मुखेलाई १ लाखदेखि ३ लाखसम्म, १९ मुखेलाई ४ लाखदेखि ९ लाखसम्म, २० मुखेलाई ७ देखि १५ लाख र २१ मुखेभन्दा माथिका रुद्राक्ष २१ लाखदेखि ४० लाख रुपैयाँसम्ममा खाँदबारी बजारमा कारोबार हुने गरेको छ । सङ्खुवासभामा वार्षिक अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यवसायी बताउँछन् । ३ वर्षयता ४, ५ र ६ मुखे रुद्राक्षको माग अत्यधिक बढेको खाँदबारीका व्यापारी छत्रबहादुर कार्कीले बताए ।

धेरै परिश्रम, गोडमेल र मलजल गर्नुनपर्ने र बजार मूल्य पनि राम्रो भएकाले किसानहरूले खेतीयोग्य जमिन मासेर रुद्राक्षको खेती गरेको किसानहरू बताउँछन् । रुद्राक्ष भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभामा अत्यधिक फल्ने गरेको छ । भोजपुरमा रुद्राक्ष अत्याधिक उत्पादन हुने भए पनि यसको पहिलो बजार सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार नै हो ।

खाँदबारीमा खरिद हुने रुद्राक्ष तराइका जिल्लाका साथै काठमाडौं र भारतका शहरमा समेत निर्यात हुने गर्दछ । यस्तै हाल चीन, युरोप र अमेरिकालगायतका मुलुकमा समेत रुद्राक्ष निर्यात हुने गरेको छ । ३ वर्षयता चिनियाँ व्यापारीले चार, पाँच र छ मुखे रुद्राक्षसमेत माग गर्न थालेपछि किसानहरू थप उत्साहित भएका छन् । रुद्राक्ष कारोबार फस्टाउन थालेपछि केही वर्षदेखि रुद्राक्षको श्रेणी विभाजन गरी जिल्ला समन्वय समितिले कर लिन थालेको छ ।