इटहरीः मनसुनी वायुको प्रभावबाट आज बिहान प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामन्य बदली रहेको भने प्रदेश १, प्रदेश २, बाग्मति, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । प्रदेश १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।

आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मति प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अपिलसमेत गरेको छ । बर्दियास्थित बबई नदीको चेपाङ जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाउँदै महाशाखाले सो क्षेत्रमा सतर्कता अपनाउन सचेत गराएको छ ।