झापाः झापाको सुरुङ्गा बजारभित्र रहेको सेल्फी डाँडा क्षेत्रमा रहेको हवाइजहाजमा आर्ट ग्यालरी बन्ने भएको छ । कन्काइ नगरपालिकामा ह्याप्पील्याण्ड नामले औपचारिक रूपमा परिचित क्षेत्रमा ४ महिना अगाडि प्रयोग नभएको जहाज ल्याइएको थियो ।

अग्नि एयरको उक्त जहाजमा आर्ट ग्यालरी बनाइने ह्याप्पी ल्याण्डका सञ्चालक दिनेश शिवाकोटीले बताए । २०७४ सालको पुसबाट सञ्चालनमा आएको ह्याप्पील्याण्ड झापाको कान्छो पर्यटकीय क्षेत्र हो ।

८२ कट्ठा क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा बालबालिकाको मन बहलाउने विभिन्न कला, खेल र अन्य पर्यटकीय आकर्षणका खुराक भएको सञ्चालक शिवाकोटी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो प्रोडक्ट नयाँ र पृथक भएकाले दैनिक सयौँ मान्छे टाढाटाढाबाट आउँछन् । गत नयाँ वर्षमा त २७ हजार मानिस घुम्न आएका थिए ।’