धरानः सुनसरीको धरानमा नेकपा माओवादी केन्द्रको सबै स्थानीय तहमा वडास्तरीय पार्टी कमिटिलाई पुनर्गठन गर्ने कार्य धमाधम भइरहेको छ ।
पुनर्गठनको क्रममा आज धरान उपमहानगरपालिका वडा नम्बर ११ मा जितराज राईको अध्यक्षतामा २८ जनाको कमिटी पुनर्गठन भएको हो । वडा कमिटी पुनर्गठन भेला माओवादी केन्द्रका प्रदेश सदस्य तथा धरान उपमहानगर इञ्चार्ज आइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । भेलालाई सम्बोधन गर्दै बेघाले नेपालको कम्युनिस्ट आन्दोलन समाप्त हुने अवस्थामा पुगेको भन्दै अब यसको रक्षा माओवादी केन्द्रले गर्नुपर्ने बताएका थिए । अहिलेको राजनीतिक घटनाको बारेमा बोल्दै बेघाले नेपाली कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन केपी ओली लागिपरेको अवस्थामा आन्दोलनको रक्षार्थ माओवादीको आवश्यकता देखिएको र ओली पक्षीय एमालेको पछि नलाग्न समेत अनुरोध गरे ।
ज्ञानोदय माविको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै धरान ११ माओवादी केन्द्रका अध्यक्ष जितराज राईले संगठनले अब युवाहरूलाई समेटेर लैजाने र युवा लक्षित अभियानहरुलाई प्राथमिकतामा राख्दै महिला, तथा मजदुरहरुको संगठन विस्तारलाई तिव्रता दिँदै आउने निर्वाचनको तयारी गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का धरान उपमहानगर सचिव सुदर्शन श्रेष्ठ, सुनसरी जिल्ला सदस्य अशोक राई, नगर सदस्य उद्धव लिम्बू लगायतको उपस्थिति रहेको थिए ।
त्यसैगरी, आजै धरानका विभिन्न वडाहरुमा क्रमशः १६ नम्बर वडामा हिमाल कार्की, १९ मा सन्त तेम्बे, २० मा विजय तामाङ र ७ मा धनकुमार लिम्बूको अध्यक्षतामा समेत कमिटी व्स्तिार भएको माओवादी केन्द्र धरान उपमहानगरपालिकाका इन्चार्ज बेघाले बताए ।