इटहरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई, ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा रही ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. १ को कार्यालयमा खटिएका सब–इन्जिनियर पासवानले भूकम्प पुनर्निर्माणको लागि सेवाग्राहीले नियमानुसार पाउने तेस्रो किस्ताको रकमको सिफारिस रोकी दिने भनी ३० हजार रुपैयाँ घुस लिएको स–प्रमाण पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले ३० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

















