इटहरी/ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम असार १० गतेभित्र नगरसभामा बजेट पेश गर्नुपर्ने संविधानको व्यवस्था अनुरूप इटहरी उपमहानरपालिकाले आइतबार बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
इटहरीले रात्रिकालीन बजार सञ्चालन गर्ने भएको छ । इटहरीमा लामो समयदेखि उठेको रात्रिबजार सञ्चालनको जिम्मा अब स्थानीय सरकारले लिने भएको छ ।
स्थानीय सरकार, व्यापारी र सुरक्षा निकायसँगको समन्वयमा रात्रिकालीन बजार सञ्चालन हुने भएको हो । यो प्रयोजनको लागि इटहरीले ४० लाख रुपैयाँ छुट्याएको छ । यस्तै, इटहरीलाई २०७५ सालभित्र सडक बालबालिकामुक्त नगर बनाउने कार्यक्रम पनि उपमहानगरको बजेट तथा कार्यक्रममा समेटिएको छ । बाल विवाह निरुत्साहित गर्न बाल विवाहको सुराकी दिनेलाई पुरस्कृत गर्ने र बाल विवाह गराउनेलाई दण्डित गर्ने कार्यक्रम पनि नगरले अघि सारेको छ ।
आइतबार बसेको इटहरीको तेस्रो नगरसभाले यस्ता कार्यक्रम ल्याएको हो । उपमेयर लक्ष्मी गौतमले सार्वजनिक गरेको इटहरीको बजेट तथा कार्यक्रमले अन्य केही आकर्षक आयोजना पनि ल्याएको छ । हरेक घरका ज्येष्ठ सदस्यको जन्मदिन र परिवारमा सन्तान प्राप्ति हुँदा अनिवार्य बिरुवा रोप्नुपर्ने कार्यक्रम इटहरीले ल्याएको छ ।
५ मेघा प्रोजेक्ट आउँदै
आइतबार सार्वजनिक भएको बजेट तथा कार्यक्रमले विभिन्न पाँच मेघा प्रोजेक्ट समेत सार्वजनिक गरेको छ । १ अर्ब ३७ करोड १० लाख ५८ हजार रुपैयाँभन्दा बढीको बजेटले विभिन्न आकर्षक परियोजनाका साथै केही मेघा प्रोजेक्ट पनि सञ्चालनमा ल्याउने भएको हो ।
चालु आर्थिक वर्षमा स–साना परियोजनामा अल्मलिएको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा विभिन्न ५ परियोजना सञ्चालन गर्ने भएको छ । आइतबार सार्वजनिक गरिएको कार्यक्रमअनुसार इटहरीमा अन्तरराष्ट्रिय स्तरका क्रिकेट रंगशाला र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बन्ने भएका छन् ।
यस्तै, इटहरीको बाहिरी क्षेत्रका विभिन्न वडा सडक सञ्जालले जोड्ने गरी बाहिरी चक्रपथ निर्माणको परियोजना पनि इटहरीले सार्वजनिक गरेको छ । इटहरीमै प्रदेशस्तरीय सुख्खा बन्दरगाह र घरेलु लघु औद्योगिक ग्रामको स्थापना गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।
अन्तरराष्ट्रिय सम्मेलन केन्द्र प्रदेश सरकारको पनि प्राथमिकताको कार्यक्रम भएकाले आगामी केही वर्षमै यो बन्ने कार्यक्रममा उल्लेख छ । बाँकी चार मेघा प्रोजेक्ट स्थानीय, प्रदेश र संघीय सरकारसँगको संयुक्त कार्यक्रमको रूपमा सञ्चालन गरिने भएको छ ।