झापा: सङ्घीय सांसद पवित्रा खरेलले सरकारले अहिले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न चाहेको र परिवर्तनका लागि ल्याएको नीतिलाई सफल पार्न हामी सबै एक हुनपर्ने बताएकी छिन् ।

झापाको बुधबारेमा ‘आत्मनिर्भरको अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण विशिष्टिकरण’ भन्ने मुख्यः नारासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुपारी जोनले आयोजना गरेको परियोजना अभिमुखीकरण गोष्ठीमा उनले यस्तो बताएकी हुन् ।

कार्यक्रमकी मुख्य अतिथि खरेलले कृषिले मुलुक समृद्ध बन्ने बताउँदै सरकारले अघि सारेका नीतिलाई सफल पार्न सरकारको एक्लो प्रयासमात्र सम्भव नहुने भएकाले हरेकले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् । सरकारी नीति सफल पार्न सबै किसान, सहकारी संस्थाहरू एकताबद्ध भएर अघि बढ्न समेत उनले सुझाव दिइन् । नेपालमा उत्पादित कुन कृषि वस्तुको विदेशमा माग छ त्यसको पहिचान गरेर निर्यात गर्नुपर्ने उनले बताइन् ।

नेपालमा उत्पादित कृषि वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सरकारले मेला महोत्सवको आयोजना गर्नेसमेत उनले जानकारी दिइन् ।

प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीले परियोजनालक्षित समुदायमा पुग्नुपर्ने बताए । सुपारी खेतीले जिल्लालाई आर्थिक रूपमा मजबुत पार्न सकिन्छ भन्ने सन्देश दिन जरुरी रहेको उनको भनाइ थियो । सुपारी खेतीबाट निकै लाभ लिन सकिने सदस्य बुढाथोकीले बताए । अब नेपालको कृषिक्षेत्रलाई मजबुत बनाएर कृषिक्षेत्रमा अहिले देखिएको परनिर्भरताको अन्त्य गरी कृषिमा आत्मनिर्भर बन्न सदस्य बुढाथोकीले जोड दिए । कार्यक्रमका वक्ताले सुपारीलाई सहज रूपमा निकासीको प्रबन्ध सरकारले गर्नुपर्ने, कच्चा पदार्थलाई प्रशोधन गरी अन्य उपयोगी वस्तु निर्माण गर्नुपर्नेलगायतका माग गरेका थिए ।

कार्यक्रममा परियोजना प्रमुख राजेन्द्रप्रसाद खरेलले सुपर जोनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि सुपारी सहकारी सङ्घका केन्द्रीय उपाध्यक्ष विश्वनाथ ढकाल, नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवी खतिवडालगायतले टिप्पणी गरेका थिए ।