विराटचोक: मंसिर २ गते नयाँ नेतृत्व चयन गर्ने भनिए पनि दलीय विवाद बढ्दै जाँदा उद्योग वाणिज्य सङ्घ कोशीहरैंचाको चुनावी अधिवेशन एक वर्षका लागि स्थगित भएको छ ।

नयाँ सदस्यताको विषयलाई लिएर नेकपा र काङ्ग्रेस समर्थित उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच नै विवाद देखिएपछि अहिलेकै कार्यसमितिले काम गर्ने गरी एक वर्षसम्मका लागि अधिवेशन स्थगित भएको जनाइएको छ । मंसिर १ गते साधारणसभामार्फत् अनुमोदन गर्ने गरी आगामी असार मसान्तसम्म अहिलेकै समितिले काम गर्ने सहमति भएको उद्योग वाणिज्य सङ्घ कोशीहरैचाका महासचिव सन्तोष वान्तवाले बताए । नयाँ व्यवसाय गर्नेले उद्योग वाणिज्य सङ्घमा दर्ता हुँदा समेत मताधिकारबाट वञ्चित गर्न खोजिएको भन्दै केही व्यापारीले आवाज उठाउन थालेका छन् । पदाधिकारीबीच विवाद चर्किँदै जाँदा दलीय रूपमा सो सहमति भएको बुझिएको छ ।

krishna rijal salakpur

उपाध्यक्ष भन्छन् ‘सहमति भएकै छैन’
यता सङ्घका उपाध्यक्ष कृष्ण रिजाल भने यही कार्यसमितिले एक वर्षसम्म काम गर्ने गरी सहमति नभएको बताएका छन् । उनले त्यससम्बन्धी निर्णय साधारण सभाले मात्रै गर्ने बताएका छन् । आफैँले गरेको निर्णयको उनले विरोध गरेका छन् । ‘समिति ठूलो होइन’ रिजालले भने, ‘व्यापारीको साझा संस्था भएकाले साधारण सभाले जे निर्णय गर्छ त्यही हुन्छ ।’ नयाँ सदस्यमा व्यापारीभन्दा पनि नेताहरू धेरै भएको उनको दाबी छ । नयाँ सदस्य कति थपिए भन्ने आफूलाई थाहा नभएको उनले बताए ।

अध्यक्ष भन्छन् ‘सहमति भयो’
यता उद्योगा वाणिज्य सङ्घ कोशीहरैंचाका अध्यक्ष नवराज चापागाईले कार्यसमितिको बैठक नै बसेर निर्णय गरेको बताएका छन् । ‘हामीले व्यापारीको हितको पक्षमा काम गराँै भनेर सहमति झिकेका हौँ’, उनले भने, ‘साधारण सभाबाट अनुमोदन मात्रै गर्न बाँकी छ ।’ अनुमोदन गरेर नयाँ सदस्यको विषयमा के गर्ने भनेर छलफल गरेर सहमतिपछि आउँदो भदौमा नयाँ कार्यसमिति चयन गर्ने समेत उनले बताए ।

nawaraj chapagai

३ वर्षअघि भएको चुनावमा तत्कालीन नेकपा माओवादी र नेपाली काङ्ग्रेसको संयुक्त गठबन्धनले चुनावमा जीत हासिल गरेको थियो । संयुक्त प्यानलबाट माओवादी समर्थित व्यापारी नवराज चापागाईं ५ सय ३१ मतसहित अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमाले सर्मथित व्यापारी टीका गौतमले १ सय ९६ मत ल्याएका थिए ।

नेकपा समर्थित व्यापारीको कमजोर अवस्था भएकै कारण नेताहरूलाई नयाँ सदस्य बनाएको काङ्ग्रेस समर्थित व्यापारीको भनाइ छ । यता नेकपा समर्थित व्यापारी भने व्यवसाय गर्न पाउँदैनस् भन्नु राणशासन जस्तै भएको बताउँछन् । उद्योग वाणिज्य सङ्घका एक पदाधिकारीका अनुसार ३ सय नयाँ सदस्य थपिएका छन् । ती पदाधिकारीले भने, ‘अहिले कार्यालयबाहिर छु र यकिन सङ्ख्या थाहा हुन सकेन तर नयाँसहित १५\१६ सय सदस्य रहेका छन् ।’

अध्यक्षमा ३ जनाको दाबी
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष नवराज चापागाई, उपाध्यक्ष कृष्ण रिजाल र २ पटक महासचिव भइसकेका सन्तोष वान्तवाले लबिङ शुरु गरिसकेका थिए । चापागाईं र वान्तवा नेकपा समर्थित हुन् भने रिजाल काङग्रेसका उम्मेदवार हुन् । नेकपाले भने उमेदवारीको टुगो लगाएको थिएन । स्थानीय तहको चुनावमा झैं व्यापारीहरू आफ्नो पार्टी समर्थित व्यापारीलाई जिताउन लागे पनि अधिवेशनको अनिश्चितताले चुनावी सरगर्मी पनि मथ्थर भएको छ ।