इटहरीः आईपीओ खरिद गर्दा होस् या त दोस्रो बजारको कारोबार गर्दा होस् मेरो शेयर एप्लिकेसन उत्तिकै महत्वपूर्ण छ अहिलेको पुस्ताको लागि । 

कुल जनसंख्याको निकै ठूलो हिस्सा अहिले शेयर बजारमा प्रवेश गरेको छ । कतिलाई त नशाजस्तै भएको छ शेयर बजार अनि यसैको लागि सहजीकरण गर्दै छ मेरो शेयर एप्लिकेसनले पनि । ग्राहकले पासवर्ड बिर्सने र रिसेट गर्न समस्या हुने गुनासा बढाउँदै गएपछि केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)ले शुक्रबारदेखि मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ । सीडीएससीले मेरो शेयरको वेबसाइटमा उक्त फिचर थप गरेको हो । फिचर थप गरेसँगै सर्वसाधारणले अब आफैँ पासवर्ड परिवर्तन गर्न सक्नेछन् ।

कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको भए फरगेट पासवर्डमा गएर क्लिक गर्न सक्नेछन् । उक्त फिचरमा क्लिक गरेसँगै लगानीकर्ताले आफ्नो डीपी अर्थात् निक्षेप सदस्य संस्थाको नाम हाल्नुपर्छ । आफ्नो युजर नेम र जन्म मिति हालेपछि पासवर्ड परिवर्तन हुनेछ । परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउने छ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सक्ने सीडीएससीले बताएको छ । यसअघि पासवर्ड बिर्सिए ग्राहकले बैंकमै तथा डीपीको कार्यालयमै सम्पर्क गर्नुपर्ने बाध्यता रहेको थियो । मेरो शेयरमै यो सेवा थप गरेपछि ग्राहकले पासवर्डको लागि अन्यत्र दुःख गरिरहनुपर्ने बाध्यता हटेको छ ।